काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्रीका रूपमा अघि सारेका बालेन्द्र शाह (बालेन) ले झापा निर्वाचन क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँगको मतान्तर झन् बढाएका छन् ।
मतगणनाको पछिल्लो परिणामअनुसार बालेन २९ हजारभन्दा बढी मतले अग्रस्थानमा रहेका छन् । उनले ३९ हजार २८४ मत प्राप्त गर्दा ओली १० हजार २९३ मतसहित दोस्रो स्थानमा छन् ।
यस क्षेत्रमा श्रम संस्कृति पार्टीका उम्मेदवार समिर तामाङ ६ हजार ३२४ मतसहित तेस्रो स्थानमा छन् भने नेपाली कांग्रेसकी उम्मेदवार मन्धरा चिमरियाले १ हजार ९६ मत प्राप्त गरेकी छन् ।
त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रञ्जित तामाङले ९४१ मत प्राप्त गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार लक्ष्मीप्रसाद संग्रौलाले ८६१ मत पाएका छन् । अन्य उम्मेदवारले चार अंकको मत जोड्न सकेका छैनन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार झापा–५ मा हालसम्म ६२ हजार १ सय मत गणना भइसकेको छ । जसमध्ये ५९ हजार ५५१ मत सदर भएका छन् भने २ हजार ५४९ मत बदर भएको जनाइएको छ ।