काठमाडौं । संयुक्त राष्ट्र (यूएन) मा इरानका स्थायी प्रतिनिधि अमिर सइद इरवानीले २८ फेब्रुअरीदेखि देशमाथि भएका अमेरिकी–इसराइली आक्रमणका कारण हालसम्म १ हजार ३३२ सर्वसाधारण नागरिकको मृत्यु भएको बताएका छन् ।
शुक्रबार (नेपाली समयअनुसार शनिबार) न्यूयोर्कस्थित यूएन मुख्यालयमा पत्रकारहरूसँग कुरा गर्दै इरवानीले इरानी रेड क्रिसेन्ट सोसाइटीका अनुसार मृत्यु हुनेहरूमा महिला र बालबालिकासमेत रहेको बताए ।
उनले भने, ‘हजारौं मानिस घाइते भएका छन् र घाइते हुनेको संख्या लगातार बढ्दै गएको छ ।’
इरवानीले विद्यालय, अस्पताल तथा अन्य नागरिक पूर्वाधारलाई जानाजानी निशाना बनाइएको आरोप पनि लगाए।
यता अमेरिकाले भने नागरिक पूर्वाधारलाई लक्षित गरेर आक्रमण गरिएको आरोप अस्वीकार गरेको छ ।
इरानमा बालिकाहरूको विद्यालयमा भएको आक्रमणबारे अमेरिकाले ‘छानबिन गर्ने’ बताएको छ । उक्त आक्रमणमा १५० भन्दा बढी मानिसको मृत्यु भएको थियो, जसमा अधिकांश बालिकाहरू रहेका छन् ।
यसैबीच इसराइलले पनि इरानले आफ्ना सर्वसाधारण नागरिकलाई निशाना बनाएको आरोप लगाएको छ ।