२८ वर्षको उमेरमा पूर्वअर्थमन्त्रीलाई हराएर संसदमा सुलभ

को हुन् सुलभ खरेल ?

काठमाडौं । रुपन्देही-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुलभ खरेल विजयी भएका छन् । प्रतिनिधसभा निर्वाचनमा उनी ५६ हजार ५५० मत पाएर विजयी भएकाहुन् ।

उनले नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्रीसमेत रहेका विष्णु पौडेललाई ४३ हजार ६८९ मतान्तरले पराजित गरेका हुन् । पौडेलले १२ हजार ८६१ मत मात्रै पाए भने नेपाली कांग्रेसका चुन्नप्रसाद शर्माले ९ हजार ३९२ मत पाए । 

२८ वर्षीय खरेल अधिवक्ता हुन् । कानूनको विद्यार्थी रहेका उनले सर्वोच्च अदालतमा विभिन्न मुद्दाहरुमा बहस र पैरवी गर्दै आएका थिए । 

उनले केपी शर्मा ओलीद्वारा गरिएको असंवैधानिक संसद विघटनको विरुद्ध कानुनको विद्यार्थी र सबैभन्दा कान्छा रिट निवेदकको रूपमा सर्वोच्च अदालतमा रिट दायर गरी बहस गर्दै राष्ट्रिय तहमा व्यापक चर्चा कमाएका थिए । राष्ट्रपतिबाट जनसेवा श्री पदकबाट विभूषित खरेलले तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेरको विरुद्धमा दर्ता भएको रिटमा मस्यौदा तयारी तथा न्यायिक सुशासनका पक्षमा सक्रिय भूमिका खेलेका थिए । 

राष्ट्रिय स्वतन्त्र पार्टीका संघीय सांसदहरू विरुद्ध निर्वाचन आयोगद्वारा गरिएको अधिकार मिचाइ र जरिवाना कारबाही विरुद्ध बहस गर्दै उनले कानुनी हस्तक्षेपमार्फत न्यायको संरक्षण गरेका थिए । 

उनले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको नेपाल ल क्याम्पस र पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतको चक्रवर्ती हाबी कलेज दुवैमा एलएलएम प्रवेश परीक्षामा शीर्ष स्थान हासिल गरेका थिए ।

शैक्षिक उत्कृष्टताको मानक स्थापित गर्दै उनी विश्वविख्यात हार्वर्ड, मिचिगन र यूसी बर्केली विश्वविद्यालयहरूमा एलएलएमका लागि छनोटमा परे । उनले मिचिगन ल स्कूलबाट पूर्ण छात्रवृत्तिमा स्नातकोत्तर हासिल गरेका छन् ।
 

Share News