काठमाडौं । झापा निर्वाचन क्षेत्र नं. ५ को मतगणना अन्तिम चरणमा पुग्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाहले भारी मतान्तरले अग्रता कायम गरेका छन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार शाहले नेकपा एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई ४३ हजार २ सय १८ को भारी मतान्तरले पछाडि पारेका हुन् ।
कुल १ लाख ६ हजार ३ सय ७२ मत खसेको यस क्षेत्रमा हालसम्म ९३ हजार ९ सय ४७ मत गणना भइसकेको छ ।
पछिल्लो परिणाम अनुसार बालेन्द्र शाहले ५९ हजार ५ सय ६८ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका केपी शर्मा ओलीले १६ हजार ३ सय ५० मत प्राप्त गरेका छन् ।
त्यस्तै, नेपाली कांग्रेसकी मन्धरा चिमरिया १ हजार ६ सय २७ मतसहित तेस्रो स्थानमा र नेपाली कम्युनिस्ट पार्टीका रन्जित तामाङ १ हजार ३ सय २७ मतका साथ चौथो स्थानमा रहेका छन् ।
अब गणना गर्न केवल १२ हजार ४ सय २५ मत मात्र बाँकी रहँदा बालेन्द्र शाहको जित प्राविधिक रूपमा सुनिश्चित भइसकेको छ ।