काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा यसपटक राजनीतिक समीकरण बदलिएको छ। लामो समय कांग्रेसको प्रभाव रहेको यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ऐतिहासिक जित हात पारेको छ।
रास्वपाका उम्मेदवार डा. ताराप्रसाद जोशी १९ हजार १३१ मतसहित विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका नैनसिंह महरले १२ हजार १२१ मत प्राप्त गरे।
निर्वाचनमा नेकपाका उम्मेदवार मानसिंह माल ६ हजार ८३४ मतसहित तेस्रो स्थानमा रहे भने नेकपा एमालेका चक्र स्नेहीले ३ हजार २६ मत मात्र ल्याए। न्यून मतका कारण स्नेहीको जमानत जफत भएको छ।
डडेल्धुरा लामो समयदेखि कांग्रेसको बलियो गढ मानिँदै आएको थियो। २०४८ सालदेखि २०७९ सालसम्म भएका सात वटा निर्वाचनमा कांग्रेसबाट शेरबहादुर देउवा लगातार विजयी हुँदै आएका थिए। तर यसपटक देउवा उम्मेदवार नबन्दा कांग्रेसले नैनसिंह महरलाई मैदानमा उतारेको थियो।