काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा यसपटक ऐतिहासिक र अप्रत्याशित परिणाम आएको छ। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको दशकौंदेखिको राजनीतिक गढ भत्काउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) भारी मतान्तरसहित विजयी भएका छन्।
रास्वपाले शाहलाई भावी प्रधानमन्त्रीको सम्भावित उम्मेदवारका रूपमा अघि सारेपछि देशभरको ध्यान यही निर्वाचन क्षेत्रमा केन्द्रित भएको थियो । निर्वाचन अधिकृतको कार्यालयका अनुसार बालेनले ओलीलाई ४९ हजार ६१४ मतको फराकिलो अन्तरले पराजित गरेका हुन्।
कुल खसेको मतमध्ये बालेन शाहले ६८ हजार ३४८ मत प्राप्त गरेका छन् भने एमाले अध्यक्ष ओली १८ हजार ७३४ मतमा सीमित भएका छन्। काठमाडौं महानगरपालिकाको प्रमुख पद त्यागेर राष्ट्रिय राजनीतिमा होमिएका बालेनका लागि यो जितले राष्ट्रिय नेतृत्वको दौडमा बलियो वैधानिकता दिएको विश्लेषण गरिएको छ।
झापा-५ लामो समयदेखि केपी शर्मा ओलीको निर्विवाद किल्ला मानिँदै आएको थियो। २०४८ सालदेखि निरन्तर यस क्षेत्रबाट सक्रिय ओलीले २०५६ सालबाहेक यहाँ कहिल्यै हार व्यहोरेका थिएनन्। विशेषगरी २०७४ र २०७९ का निर्वाचनमा उनले फराकिलो मतान्तरसहित जित निकाल्दै आफ्नो ‘अजेय’ छवि बनाएका थिए।
तर २०८२ को चुनावी माहोलले झापाको राजनीतिक समीकरण नै बदलिदियो। काठमाडौं महानगरमा देखाएको कार्यक्षमता र सुशासनको छविलाई रास्वपाको संगठनात्मक शक्तिले साथ दिँदा बालेनका पक्षमा मतदाताको ठूलो ध्रुवीकरण भएको देखिएको छ।
२०७९ को आम निर्वाचनमा ओलीले यही क्षेत्रबाट नेपाली कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीलाई २८ हजार ५७६ मतान्तरले पराजित गरेका थिए। त्यतिबेला ओलीले ५२ हजार ३१९ मत ल्याउँदा अधिकारीले २३ हजार ७४३ मत पाएका थिए।
तर तीन वर्षमै चुनावी परिदृश्य पूर्ण रूपमा फेरिएको छ। यसपटक ओलीको मत घटेर १८ हजारमा सीमित हुनु एमालेको परम्परागत मत बैंकमा आएको ठूलो परिवर्तनको संकेत मानिएको छ।
बालेनले प्राप्त गरेको ६८ हजारभन्दा बढी मतले झापा-५ मा युवा मतदाता र ‘स्विङ भोटर’ को स्पष्ट ध्रुवीकरण देखाएको छ। लामो समय सत्ताको केन्द्रमा रहेका पुराना नेतृत्वप्रति बढ्दो असन्तुष्टि र परिवर्तनको चाहनालाई बालेनले आफ्नो पक्षमा रूपान्तरण गर्न सफल भएका छन्।