काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति तथा तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्लेले जनताबाट प्राप्त जनमतले मुलुकलाई नयाँ दिशातर्फ लैजाने बताएका छन् ।
निर्वाचित भएपछि कार्यकर्तामाझ संक्षिप्त सम्बोधन गर्दै उनले मतदाताले दिएको विश्वासलाई शिरोधार्य गर्दै अगाडि बढ्ने र त्यो भरोसा कुनै हालतमा टुट्न नदिने प्रतिबद्धता व्यक्त गरे।
‘जिम्मेवारी ठूलो छ, ’ उनले भने, ‘तनहुँ त आफ्नै ठाउँ भइहाल्यो । दुई पटक यहाँबाट विजयी गराइदिनुभयो। यसको महत्त्व, यहाँका जनताको आशा र भरोसालाई म कहिल्यै लत्याउने छैन । ’
डा. वाग्लेले तनहुँका जनताले शिर निहुराउन नपर्ने गरी काम गर्ने दृढता व्यक्त गर्दै जनताको अपेक्षालाई परिणाममा बदल्ने गरी आफू सक्रिय रहने बताए ।
उनले प्राप्त जनादेशलाई केवल व्यक्तिगत जीत नभई परिवर्तनको संकेतका रूपमा लिएको पनि उल्लेख गरे ।