देशभरका १६५ वटै क्षेत्रमा मतगणना जारी, अहिलेसम्म ५८ क्षेत्रको परिणाम सार्वजनिक

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत देशका सबै १६५ निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फको मतगणना सुरु भएको छ । निर्वाचन आयोगका अनुसार उच्च हिमाली क्षेत्रका मतपेटिका ढुवानीमा मौसमले अवरोध गरेपछि केही स्थानमा मतगणना सुरु गर्न ढिलाइ भएको थियो ।

पछिल्लोपटक हेलिकप्टरमार्फत ढुवानी गरिएका सङ्खुवासभा र गोरखाका मतपेटिकाको गणना शनिबार बिहानदेखि सुरु भइसकेको छ । त्यस्तै मुगुमा मानिसले बोकेर मतपेटिका ल्याइएपछि दिउँसो ४ बजेदेखि मतगणना सुरु भएको आयोगले जनाएको छ ।

निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार हालसम्म ५८ निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भइसकेको छ र सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले त्यसको विवरण आयोगको प्रणालीमा प्रविष्टि गरिसकेको छ । प्राविधिक कारणले केही स्थानबाट तथ्यांक प्रविष्टिमा सामान्य ढिलाइ हुने गरेको उनले बताए ।

प्रत्यक्षतर्फ मतगणना सम्पन्न भएका क्षेत्रमा समानुपातिकतर्फको मतगणना पनि सुरु गरिएको छ । आयोगका अनुसार समानुपातिकतर्फ हालसम्म करिब ३ लाख ७० हजार मत गणना भइसकेको छ र त्यसको विवरण प्रणालीमा अद्यावधिक भइरहेको छ ।

आयोगले प्रत्यक्षतर्फ आइतबार बेलुकीसम्म १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक गर्ने लक्ष्यसहित मतगणना तीव्र रूपमा जारी रहेको जनाएको छ ।

Share News