निर्वाचित भएलगत्तै रास्वपा नेता अस्पताल निरीक्षणमा, भने- अब गुनासो आउनु भएन

काठमाडौं । कञ्चनपुर प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता दीपक बोहराले महाकाली प्रादेशिक अस्पताल निरीक्षण गरी सेवा सुविधाबारे जानकारी लिएका छन् । 

आज निर्वाचित भएपछि उनी अस्पतालको सेवा सुविधाबारे जानकारी लिन अस्पताल पुगेका थिए । उनलाई अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.अर्जुन भट्टसँग अस्पतालको अवस्था, सेवा सुविधा र समस्याबारे जानकारी दिएका थिए । 

बोहराले डायलाइसिस सेवाको अभावमा कुनै पनि मिर्गौला पीडित र उपचार नपाएर कसैले ज्यान गुमाउनुपर्ने बाध्यता अन्त्य हुनुपर्ने बताए ।

‘मैले निर्वाचनको समयमा मत माग्दै जाँदा अस्पतालमा सहज रूपमा सेवा पाइँदैन, भनसुनका आधारमा उपचार हुन्छ भनेर गुनासो सुन्नुपरेको थियो,’ बोहराले भने, ‘अब उपचार सेवा सुविधाबारे गुनासो आउनुहुँदैन । सबै जना अस्पतालको सुधारमा लाग्नुपर्छ ।’

अस्पतालका डा. अर्जुन भट्टले अस्पतालको स्रोत साधनले भ्याए अनुसार सेवा प्रवाह हुँदै आएको बताए ।

‘हाल जनशक्ति र भौतिक संरचना थपिँदै गएका छन्, विगतको तुलनामा रिफर हुने बिरामीको सङ्ख्या न्यून छ । बिरामीको चाप र अस्पतालमा बेड अभावका कारण सेवा दिन नसकिएको हो । त्यसको व्यवस्थापनमा ध्यान दिनुपर्नेछ,’ उनले भने । 

बोहरा कञ्चनपुर क्षेत्र नं २ बाट २३ हजार १२५ मतान्तरसहित विजयी भएका हुन् । 

Share News