११० क्षेत्रको नतिजा सार्वजनिक, कांग्रेस १२ र एमाले ६ ठाउँमा विजयी

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना मुलुकभर जारी रहेको छ । निर्वाचन आयोगका अनुसार १६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म ११० क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ।

पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ८५ निर्वाचन क्षेत्रमा विजय हासिल गरिसकेको छ । साथै रास्वपाले थप ३७ निर्वाचन क्षेत्रमा अग्रता कायम राखेको छ । समानुपातिकतर्फ पनि रास्वपा ७ लाख ४८ हजार बढी मतसहित शीर्ष स्थानमा रहेको छ ।

यसैगरी नेपाली कांग्रेसले हालसम्म १२ निर्वाचन क्षेत्रमा जीत हासिल गरेको छ भने ७ निर्वाचन क्षेत्रमा अग्रता कायम राखेको छ । समानुपातिकतर्फ कांग्रेसले २ लाख ५१ हजारभन्दा बढी मत प्राप्त गरेको छ ।

नेकपा (एमाले) ले हालसम्म ६ निर्वाचन क्षेत्रमा जीत हासिल गरेको छ । एमालेले थप ५ निर्वाचन क्षेत्रमा अग्रता कायम राखेको छ भने समानुपातिकतर्फ १ लाख ९८ हजारभन्दा बढी मत प्राप्त गरिसकेको छ।

त्यस्तै नेपाल कम्युनिष्ट पार्टीले ५ निर्वाचन क्षेत्रमा जीत हासिल गरेको छ भने ३ निर्वाचन क्षेत्रमा अग्रता लिइरहेको छ । उक्त पार्टीले समानुपातिकतर्फ ९२ हजारभन्दा बढी मत प्राप्त गरेको छ ।

पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले हालसम्म १ सिटमा जीत निकालेको छ भने समानुपातिकतर्फ ५१ हजारभन्दा बढी मत प्राप्त गरेको छ । यसैगरी स्वतन्त्र उम्मेदवारले १ निर्वाचन क्षेत्रमा जीत हासिल गरेका छन् भने श्रम संस्कृति पार्टीले ३ निर्वाचन क्षेत्रमा अग्रता कायम राखेको छ। 

Share News