मध्यपूर्व द्वन्द्वले तेल बजारमा हलचल, भारतको अर्थतन्त्र जोखिममा !

काठमाडौं । इरान–इजरायलबीचको युद्ध रोकिने संकेत अहिले देखिएको छैन । यस युद्धमा अमेरिका पनि इजरायलको पक्षमा उभिएको छ । साथै यो युद्धको प्रभाव खाडी मुलुकहरूमा पनि फैलिन थालेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो युद्ध लामो समयसम्म चल्न सक्ने बताएका छन् । त्यसकारण क्रूड आयल अर्थात् कच्चा तेलको मूल्यमा तीव्र वृद्धि हुन सक्ने अनुमान गरिएको छ । यसको प्रभाव भारतको अर्थतन्त्रमा पनि देखिन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

इरान–इजरायल द्वन्द्वको आज नवौं दिन पुगेको छ । संघर्ष सुरु हुनुअघि कच्चा तेलको मूल्य करिब ६२ डलर प्रति ब्यारेल थियो । तर एक साताभित्रै क्रूड आयलको मूल्यमा तीव्र उछाल आएको छ । शुक्रबार तेलको मूल्य ९० डलर प्रति ब्यारेलभन्दा माथि पुगेको थियो । अमेरिकी कच्चा तेल वेस्ट टेक्सास इन्टरमेडियट (डब्ल्यूटीआई) को मूल्य ९०.९० डलरमा स्थिर भएको छ, जुन एक साताअघि भन्दा करिब ३६ प्रतिशत बढी हो । त्यस्तै, अन्तर्राष्ट्रिय मापदण्ड ब्रेन्ट क्रूडको मूल्य पनि एक सातामा २७ प्रतिशतले बढेर ९२.६९ डलर प्रति ब्यारेल पुगेको छ ।

होर्मुज जलडमरूमध्य मुख्य मार्ग

खाडी मुलुकहरूबाट आउने अधिकांश तेल स्ट्रेट अफ होर्मुज हुँदै विश्व बजारमा पुग्छ ।  यो मार्ग इरानको सीमाक्षेत्र नजिकै पर्छ । युद्धको अवस्था हेर्दै इरानले यस मार्गमा विभिन्न प्रतिबन्धहरू लगाएको बताइएको छ । विश्वव्यापी तेल ढुवानीको करिब २०–२५ प्रतिशत यही मार्गबाट हुने गर्छ । भारतले आयात गर्ने कच्चा तेलको करिब आधा भाग पनि यही बाटो हुँदै आउँछ । यहाँ तनाव बढ्दा आपूर्ति अवरुद्ध हुने जोखिम मात्र होइन, जहाज बीमा र ढुवानी खर्च पनि बढेको छ, जसलाई ‘वार प्रिमियम’ भनिन्छ ।

मध्यपूर्वमा बढ्दो तनावका कारण पर्शियन गल्फ हुँदै जाने जहाजहरूको बीमा प्रिमियममा तीव्र वृद्धि देखिएको छ । युद्ध जोखिम बढेकाले शिपिङ कम्पनी र कार्गो मालिकहरूको लागत निकै बढ्न सक्छ । हालको संघर्षका कारण पहिले लागू गरिएको ‘वार रिस्क प्रिमियम’ पर्याप्त मानिएको छैन । भविष्यमा बीमा कभरेज उपलब्ध हुन सक्छ, तर त्यसका लागि जहाज मालिक र कार्गो कम्पनीहरूले धेरै महँगो प्रिमियम तिर्नुपर्ने अवस्था आउन सक्छ । यो कुरा पोलिसीबजार फर बिजनेसका मरीन इन्स्योरेन्स प्रमुख बालासुन्दरम आरले बताएका हुन् ।

भारतमा कस्तो प्रभाव पर्न सक्छ ?

भारतले आफ्नो आवश्यकताको करिब ५० प्रतिशत कच्चा तेल मध्यपूर्वबाट आयात गर्छ । भारतीय रिफाइनरीहरू मुख्य रूपमा मध्यपूर्वी कच्चा तेल प्रशोधन गर्न मिल्ने गरी डिजाइन गरिएका छन् । भारतसँग करिब २५–३० दिनका लागि मात्र रणनीतिक पेट्रोलियम भण्डार छ, जुन आपतकालीन अवस्थाका लागि राखिएको हो ।

हालै कच्चा तेलको मूल्य प्रति ब्यारेल १०–१५ डलरसम्म बढेको देखिएको छ । यसको प्रभाव आगामी दिनमा भारतको आर्थिक वृद्धिदरमा देखिन सक्छ । विश्व बजारमा कच्चा तेलको मूल्य प्रत्येक १० डलरले बढ्दा भारतको जीडीपी वृद्धिदर करिब ०.५ प्रतिशतले घट्न सक्ने अनुमान गरिएको छ । यस्तो अवस्थामा देशमा महँगी बढ्ने सम्भावना पनि रहन्छ ।

तेलको मूल्य १५० डलरसम्म पुग्न सक्छ ?

हालै अगेन क्यापिटलका पार्टनर जोन किलडुफले तेलको मूल्य १०० डलर प्रति ब्यारेलसम्म पुग्न सक्ने बताएका थिए । त्यस्तै, फाइनान्सियल  टाइम्सलाई दिएको अन्तर्वार्तामा कतारका ऊर्जामन्त्रीले खाडी क्षेत्रका ऊर्जा उत्पादकहरूले केही हप्ताभित्रै निर्यात रोक्न सक्ने सम्भावना रहेको बताएका छन् । यदि यस्तो भयो भने तेलको मूल्य १५० डलर प्रति ब्यारेलसम्म पुग्न सक्छ । यस्तो अवस्थामा भारतमा महँगी अत्यधिक बढ्न सक्छ र अर्थतन्त्रमा गम्भीर असर पर्न सक्छ ।

मध्यपूर्वको रापमा विश्व अर्थतन्त्र : केन्द्रीय बैंकहरूको ‘अग्निपरीक्षा’ र मुद्रास्फीति बढाउने जोखिम

इरान : शून्यमा सत्ता, संकटमा शासन

खाडी संकट गहिरिँदै : बीमा कम्पनीहरू पछि हट्दा विश्व ऊर्जा बजार त्रसित

इरान र इजरायल : मित्रतादेखि कट्टर दुश्मनीसम्म, यस्तो छ नालीबेली

Share News