काठमाडौं । पूर्वप्रहरीहरूले संसदीय यात्राको सुनिश्चिता गरेका छन् । फागुन २१ गते भएको प्रतिनिधि सभाको निर्वाचनमा केही पूर्वप्रहरीहहरू निर्वाचित भएका हुन् ।
पूर्व प्रहरीहरू विभिन्न जिल्लाका फरक–फरक क्षेत्रमा निर्वाचनमा होम्मिएका थिए । अधिकांश प्रहरीहरू राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेर विजय हासिल गरेका छन् ।
कानुन कार्यान्वय गरेकाहरू पुनः नीति बनाउने ठाउँमा पुगेका छन् । जागिरे जीवनमा रहँदा प्रहरीहरूले कानुनको पालना गरेर सेवा प्रवाह गरेका थिए । अब भने कानुन बनाउने ठाउँमा पूर्वप्रहरी अधिकारीहरू पुगेका छन् ।
ओखलढुंगाबाट रास्वपाबा उम्मेदवार पूर्व एआईजी विश्वराज पोख्रेल विजयी भएका छन् । उनले १३ हजार ९५३ मत ल्याएर विजयी भएका हुन् । उनी ५ मतले निर्वाचित भएका हुन् ।
झापा–४ बाट विजयी बन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शम्भुप्रसाद ढकालले संसद भवनतर्फ पाइला अगाडि बढाएका छन् । ढकालले ४३ हजार ६ सय ३१ मत पाएर निर्वाचित भएका हुन् । ढकाल २२ वर्ष नेपाल प्रहरीमा कार्यरत रहे । उनी सईको जिम्मेवारीबाट अवकाश भएका हुन् ।
नेपाल प्रहरीका पूर्वएसएसपी विक्रमसिंह थापाले कपिलवस्तु–२ बाट उनी २७ हजार ६३५ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुरेन्द्रराज आचार्यले २१ हजार ५२७ मत प्राप्त गरे।
त्यस्तै, गुल्मी क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गोविन्द पन्थी विजयी भएका छन् । उनी डिएसपीबाट अवकाश भएका थिए । अन्तिम मत परिणाम अनुसार पन्थीले नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टलाई ५६१ मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।
यस्तै, काठमाडौं महानगरका प्रमुख रहेर काम गरिसकेका राजुनाथ पाण्डे पनि सांसद बनेका छन् । उनी काठमाडौं प्रहरीको प्रमुखबाट राजीनामा दिएर काठमाडौं–३ मा चुनावी मैदानमा उत्रएका थिए । उनले उज्यालो नेपाल पार्टीका कुलमान घिसिङलाई पराजित गरेका हुन् ।
रास्वपाका पाण्डेले १८ हजार ७५७ मत ल्याएर विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी घिसिङले ११ हजार १७१ मत ल्याएका हुन् । राजुनाथ पाण्डेसँग कुलमान ७ हजार ५८६ मतले पराजित भएका हुन् ।