कबिन्द्र बुर्लाकोटीको युवा अभियानदेखि संसद्सम्मको यात्रा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटी गोरखा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन् । क्षेत्र नं २ को निर्वाचन कार्यालयले २६ हजार ६६० मत प्राप्त गरेका बुर्लाकोटीलाई प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएको घोषणा गरेको हो ।

कुल १ लाख ८ हजार ५३३ मतदाता रहेको गोरखा २ मा ५७ हजार १५६ मत खसेको थियो । जसमध्ये ५४ हजार १४७ मतमात्र सदर र ३ हजार ९ मत बदर भएको थियो । विजयी बनेका बुर्लाकोटीले सदर मतको ४९ प्रतिशत मत प्राप्त गरे । 

बुर्लाकोटीले प्रतिस्पर्धी नेपाली कांग्रेसबाट उम्मेदवार प्रकाशचन्द्र दवाडीले भन्दा १४ हजार ९६० बढी मत प्राप्त गरे । दवाडीले ११ हजार ७०० मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीका लेखनाथ न्यौपानेले ११ हजार ७३ मत प्राप्त गरे । अर्का प्रतिस्पर्धी नेकपा (एमाले) का मिलन गुरुङ (चक्रे मिलन) ले ३ हजार ८७ मत मात्र पाए ।

प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित बुर्लाकोटी राष्ट्रिय स्वतन्त्र पार्टीको संस्थापक सदस्यमध्येका हुन् । विसं २०७९ असारमा पार्टी स्थापना हुँदा उनी केन्द्रीय सदस्य थिए भने दुई महिनामै सहमहामन्त्री र दुई वर्षमै महामन्त्री बन्न सफल भए । अहिले पनि उनी रास्वपाका महामन्त्री हुन् ।

उनको जन्म २०३६ साल मङ्सिरमा बुबा राजाराम र आमा डम्मरकुमारी बुर्लाकोटीको सन्तानका रुपमा धादिङको सल्यानटारमा भएको थियो । पाँच वर्षको उमेरमा गोरखाको पालुङ्टार-९ मा बसाइँ सरी आएका अभिभावकले उनलाई धर्मोदय माविमा कक्षा १ मा भर्ना गरिदिएका थिए ।

गोरखा नगरपालिका-१२ स्थित महेन्द्र मावि कुन्दुरटारबाट एसएलसी पूरा गरेपछि नयाँ जीवनको सुरुआत गर्न उनी राजधानी काठमाडौं प्रवेश गरे । कमजोर आर्थिक अवस्थाबाट गुज्रिएका उनी एसएलसी उत्तीर्ण गरेपछि सरस्वती क्याम्पसमा कमर्स पढ्न सुरु गरे । स्नातक तह अध्ययन गर्ने सिलसिलामा भने उनी युवा सशक्तिकरणका विभिन्न अभियानको संलग्न भए । फाइनान्समा स्नातकोत्तर गरेका उनले अस्ट्रेलियाको न्यू साउथवेल्स युनिभर्सिटीबाट ह्युमनराइट्स एन्ड बिजनेस कोर्स अध्ययन गरे । 

मलेसियाको आइकम इन्स्टिच्युटबाट उनले ‘युथ लिडरसिप’ कोर्स पूरा गरे । त्यसपछि २०५७ सालमा उनले भ्रष्टाचार विरोधी गतिविधि गर्ने संस्था युनाइटेड युथ नामक संस्था दर्ता गरी संस्थापक अध्यक्ष पदमा रहेर युवा सशक्तिकरण अभियान सुरु गरे । त्यसपछि २०६४ सालमा उनकै नेतृत्वमा देशभरका युवाको संस्थाहरूको सञ्जाल ‘नेपाल युवा संस्था सञ्जाल’ गठन भएको थियो ।

त्यस लगत्तै उनले २०६९ सालतिर फेरि अर्को युवाहरूको छाता संस्था ‘राष्ट्रिय युवा महासङ्घ’ दर्ता गरेका थिए । यसमा देशभरकै युवा संस्थाहरू आबद्ध थिए ।

‘यो महासङ्घमा आबद्ध रहेका धेरै युवा अहिले मसँगै सांसद भएका छन् । यही बीचमा संयुक्त राष्ट्र सङ्घको नेपाल च्याप्टरको युथ एड्भाइजर भएर सन् २००८ देखि २०१२ सम्म काम गरेँ । एउटा बेसाएर खाने गरिब परिवेशमा गुज्रिएको म पछि युवा गतिविधिमा सरिक भएँ । तीस वटा देश घुम्ने मौका पाएँ,’ उनले भने । 

पार्टीका लागि जिउज्यान दिएको प्रतिफल अहिले देश घण्टीमय भएको उनको बुझाइ छ । अहिले देशभरका नागरिकको रोजाइमा राष्ट्रिय स्वतन्त्र पार्टी पर्नाका पछाडि आफूहरूको इमान्दारिता, क्षमता, दक्षता भएको उनको भनाइ छ ।

‘नयाँ पार्टी त जति पनि थिए तर हामीमै किन यति धेरै विश्वास र भरोसा भयो भने हामीमा काम गर्न सक्ने क्षमता छ भनेर सबैले बुझेका छन् । अब यो विश्वास र भरोसालाई सदासर्वदाका लागि टिकाइराख्नु हाम्रो चुनौती हो,’ उनले भने ।

Share News