माओवादीको ‘लालकिल्ला’ भत्काउँदै यातायातविज्ञ गजुरेल संसदीय यात्रामा

काठमाडौं । हिजोसम्म सडकका खाल्डाखुल्डी, सवारी दुर्घटना र अव्यवस्थित यातायात प्रणालीबारे सार्वजनिक रूपमा बारम्बार सरकारलाई प्रश्न गर्ने आवाज अब संसदमा गर्ने भएको छ । टेलिभिजन बहसदेखि नीतिमञ्चसम्म सडक सुरक्षा र पूर्वाधार सुधारका विषय उठाउने यातायात विज्ञ आशिष गजुरेल अब संसद्को रोस्ट्रमबाट नीति निर्माण गर्ने माननीय बन्न पुगेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट सिन्धुली निर्वाचन क्षेत्र नम्बर-२ मा उम्मेदवार बनेका गजुरेलले दशकौंदेखि वामपन्थीहरूको बलियो पकड रहेको क्षेत्रमा सानदार जित दर्ता गर्दै संसदीय यात्रा सुरु गरेका हुन् । 

मतगणनाको अन्तिम परिणाम अनुसार गजुरेलले १७ हजार ९४० मत प्राप्त गर्दै नेकपा माओवादी केन्द्र का प्रभावशाली नेता तथा पूर्वसांसद लेखनाथ दाहाल लाई ३ हजार १६० मतान्तरले पराजित गरे । दाहालले १४ हजार ७८० मत पाए। एमाले र कांग्रेसका उम्मेदवारहरू भने निकै पछाडि परे । 

यो क्षेत्र २०६४ सालदेखि माओवादीको गढ मानिन्थ्यो । विगतका चारमध्ये तीनवटा निर्वाचनमा माओवादीले नै जितेको थियो । तर यसपटक देशभर देखिएको रास्वपाको लहरले सिन्धुलीका पुराना राजनीतिक किल्लाहरू भत्काइदियो । 

झन् रोचक कुरा यही क्षेत्रमा २०७४ सालमा माओवादीबाट उनका काका हरिबोल गजुरेल विजयी भएका थिए । यसपटक भने त्यही भूमिमा आशिषले बाजी मारे । उनी राजनीतिमा अचानक देखिएका पात्र मात्र होइनन्, पूर्वाधार र यातायात व्यवस्थापन क्षेत्रमा लामो अनुभव बोकेका प्राविधिक विज्ञसमेत हुन् । 

जर्मनीको टेक्निकल युनिभर्सिटी अफ म्युनिखबाट ट्रान्सपोर्टेसन सिस्टममा मास्टर्स गरेका गजुरेल पेसाले इन्जिनियर हुन् । उनले नेपाल सरकारको लगानी बोर्डमा ७ वर्षभन्दा बढी पूर्वाधार विज्ञका रूपमा काम गरेका छन् ।

गजुरेलले नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशकका रूपमा दुई कार्यकाल नेतृत्व गरेका थिए । उनको कार्यकाललाई समितिको ‘स्वर्णिम समय’ भनेर समेत चर्चा गरिन्छ । 

उनकै नेतृत्वमा काठमाडौंको चोभारस्थित सुक्खा बन्दरगाह निर्माण सम्पन्न भई सञ्चालनमा आयो । साथै दोधारा–चाँदनी सुक्खा बन्दरगाह को वर्षौंदेखि रोकिएको निर्माण कार्य अघि बढाउने काम पनि उनले गरे । उनकै कार्यकालमा समितिको वार्षिक आम्दानी ८० करोड रुपैयाँबाट बढेर १८० करोड रुपैयाँ पुगेको थियो, जुन उनको व्यवस्थापकीय दक्षताको उदाहरण मानिन्छ ।

निर्वाचन अभियानका क्रममा गजुरेलले भावनात्मक नाराभन्दा पनि तथ्यमा आधारित योजना प्रस्तुत गरेका थिए । 

उनका अनुसार, ‘राजनीति शक्ति वा पदको साधन होइन, यो सार्वजनिक सेवा र समस्याको समाधान गर्ने थलो हो ।’ सिन्धुलीलाई पूर्व-पश्चिम राजमार्ग र मध्यपहाडी लोकमार्गसँग जोड्ने, स्थानीय उत्पादनलाई बजारसँग जोड्ने र डिजिटल पहुँच विस्तार गर्ने स्पष्ट योजनाले मतदाताको मन जितेको विश्लेषण गरिएको छ । 

अहिलेसम्म सडक र मिडियाबाट सरकारलाई सुझाव दिने गजुरेल अब आफै नीति निर्माणको केन्द्रमा पुगेका छन् । यातायात, आपूर्ति व्यवस्थापन र पूर्वाधार विकासका क्षेत्रमा उनको अनुभव संसद्मा उपयोगी हुने अपेक्षा गरिएको छ ।

एक सफल इन्जिनियर, लेखक र प्रशासकको छवि बनाएका गजुरेलको संसदीय यात्राले सिन्धुली-२ मात्र होइन, देशकै पूर्वाधार विकासमा नयाँ दृष्टि थप्ने विश्वास गरिएको छ । रास्वपाको घण्टीसँगै सिन्धुलीमा सुरु भएको परिवर्तन अब राष्ट्रिय नीति निर्माणमा कति गुञ्जिन्छ, त्यसतर्फ धेरैको नजर केन्द्रित भएको छ ।

Share News