४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधिसभा निर्वाचन जिते

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा होमिएका यातायात व्यवसायीमध्ये दुई जनाले मात्रै जित हासिल गरेका छन् । 

प्रत्यक्ष निर्वाचन प्रणालीमा होमिएका चार यातायात व्यवसायीमध्ये दुई जनाले मात्रै जित हासिल गरेका हुन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्षसमेत विजयबहादुर स्वाँरले कैलाली–२ बाट प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी दिएका थिए । तर उनी पराजित भएका छन् ।

उनको क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केपी खनालले १९ हजारभन्दा बढी मत ल्याएर विजयी भएका छन् । स्वाँरले ७ हजार २ सय मत ल्याएर चौथो स्थान हासिल गरेका छन् ।

अर्का पश्चिम यातायात व्यवसायी विष्णु खड्काले सुर्खेत–१ बाट उम्मेदवारी दिएका थिए । नेपाली कांग्रेसले खड्कालाई उम्मेदवार बनाएकोमा उनले २८ हजार ८ सय मत ल्याएर जित हासिल गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार ध्रुवकुमार शाहीले १८ हजार ८९० मत ल्याएका थिए ।

त्यस्तै, रास्वपाबाट उम्मेदवार बनेका कर्णाली यातायातका प्रमुख रमेश सापकोटाले सुर्खेत–२ बाट उम्मेदवारी दिएका थिए । उनले ३० हजार ८ सय मत ल्याएर जित हासिल गरेका छन् । सापकोटाका प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार नारायणकुमार खड्काले १६ हजार ३ सय मत ल्याएका थिए ।

अर्का यातायात व्यवसायी नेपाली कांग्रेसका उम्मेदवार भागवत मल्लले स्याङ्जा–२ बाट उम्मेदवारी दिएका थिए । तर उनले पराजय भोग्नुपरेको छ । सो क्षेत्रबाट रास्वपाका उम्मेदवार झविलाल डुम्रेले २५ हजारभन्दा बढी मत ल्याएर जित हासिल गरेका छन् । मल्लले २० हजार ८३० मत ल्याएर हार व्यहोर्नुपर्यो ।

Share News