काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ चार राजनीतिक दलले थ्रेसहोल्ड कटाएका छन् । हालसम्म ८५ लाख २५ हजार ४६९ मत गणना भइसकेको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगको पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले आवश्यक मत प्राप्त गर्दै थ्रेसहोल्ड पार गरेका हुन् ।
आयोगले सार्वजनिक गरेको विवरणअनुसार रास्वपाले सबैभन्दा धेरै ४१ लाख १८ हजार १६४ मत प्राप्त गरेको छ । त्यस्तै, नेपाली कांग्रेसले १३ लाख २ हजार ६६ मत प्राप्त गरेको छ । नेकपा एमालेले ११ लाख ६५ हजार ५५८ मत समानुपातिकमा प्राप्त गरेको छ भने नेपाली कम्युनिष्ट पार्टीले ६ लाख ४ हजार ९२ मत पाएको छ ।
हालसम्म प्रकाशित विवरणअनुसार रास्वपाले ४८ प्रतिशत लोकप्रिय मत प्राप्त गरेर पहिलो दल बनेको छ । नेपाली कांग्रेस १६ प्रतिशत मतसहित दोस्रो बन्दा एमाले १४ प्रतिशत मतसहित तेस्रो बनेको छ । नेपाली कम्युनिष्ट पार्टीले ७ प्रतिशत मत ल्याएर चौंथो दल बनेको छ ।
श्रम संस्कृति पार्टीले हालसम्म २ लाख ९७ हजार ६१७ मत प्राप्त गरेको छ । तर उक्त मत थ्रेसहोल्ड कटाउन आवश्यक मतभन्दा कम भएकाले समानुपातिकतर्फ प्रतिनिधित्व पाउने सम्भावना अझै कमजोर देखिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि २ लाख ४३ मत प्राप्त गरेको छ ।
निर्वाचन आयोग स्रोतका अनुसार विगतमा ३ देखि ४ लाख मत बदर भएको ट्रेण्ड हेर्दा र अहिले पनि सोही अनुपातमा मत बदर भइरहेकोले १ करोड ५ लाख मत सदर हुने सम्भावना रहेको छ । यदि त्यति मत सदर भए भने राष्ट्रिय दल बन्न न्यूनतम ३ लाख १० हजार मत प्राप्त गर्ने दल राष्ट्रिय दल बन्न सक्छ ।
राप्रपा र श्रम संस्कृति पार्टी अहिले राष्ट्रिय पार्टी बन्ने दौडमा रहेका छन् ।