सांसद बन्न नसकेका कांग्रेसका ‘पिएचडी होल्डर’ नेता

काठमाडौं । नेपाली कांग्रेस पार्टीभित्र अब्बल मानिएका र शैक्षिक योग्यताले पनि विद्यावारिधी पूरा गरेका उम्मेदवारहरू पराजित भएका छन् । फागुन २१ गते भएको प्रतिनिधि सभाको निर्वाचनमा नेपाली कांग्रेसका विद्यावारिधि गरेका उम्मेदवारहरू पराजित भएका हुन् । 

नेपाली कांग्रेसभित्रका प्रभावशाली नेताका रूपमा परिचित र अर्थमन्त्रीसमेत बनिसकेका डा. प्रकाशशरण महत पराजित भए ।  

नुवाकोट १ मा डा. रास्वपाका उम्मेदवार विक्रम तिम्सिनासँग पराजित भएका हुन् । तिम्सिनाले २२ हजार ६०९ मत ल्याएर विजयी भएका र डा. महतले १८ हजार ५९७ मत प्राप्त गरेका छन् । डा. महतले अर्थशास्त्र विषयमा पिएचडी गरेका छन् ।

मोरङ-२ मा कृष्ण कुमार (गणेश) कार्कीसँग डा. मीनेन्द्र रिजाल पराजित बनेका छन् । उनले १२ हजार ७६४ मत प्राप्त गरेका छन् । कार्कीले ४० हजार ९२४ मत प्राप्त गरेका छन् । डा. रिजालले व्यवसाय प्रशासन क्षेत्रमा विद्यावारिधि गरेका छन् । 

गुल्मी- २ मा सागर ढकालसँग डा. चन्द्रकान्त भण्डारी पराजित बनेका हुन् । ढकालले २९ हजार ६४२ मत प्राप्त गर्दा डा. भण्डारीले १३ हजार ५०५ मत पाएका थिए ।  डा. भण्डारीले समाजशास्त्र विषयमा पिएचडी गरेका छन् ।

डा. गोविन्दराज पोखरेल प्युठान १ मा रास्वपाका सुशान्त वैदिकसँग पराजित भएका छन् । उनले २७ हजार ४६९ मत प्राप्त गर्दा डा.पोखरेलले १८ हजार ३३८ मत पाएका छन् । 

डा. पोखरेलले जर्मनीबाट विद्यावारिधि गरेका छन् । उनको पिएचडी अध्ययन र अनुसन्धान मुख्य रूपमा ऊर्जा , जलवायु परिवर्तन र सार्वजनिक नीति जस्ता क्षेत्रमा केन्द्रित रहेको छ।

रोल्पामा नेकपाका उम्मेदवार वर्षमान पुनसँग डा. सुदनकुमार वली पराजित भएका छन् । पुनले २७ हजार ४६० मत प्राप्त गरेका छन् । डा. वलीले १२ हजार ८ मत पाएका छन् । डा. वलीले अर्थशास्त्र विषयमा पीएचडी गरेका छन् ।

यी विद्यावारिधि गरेकाहरू भए पनि पेशाले डाक्टर भएकाहरू पनि पराजित भएका छन् । डा. सुनिल शर्मा र डा. शेखर कोइराला पूर्व चिकित्सकहरू हुन् । रास्वपाका मोरङ-३ मा सुनिल शर्मा पनि रास्वपाका गणेश कार्कीसँग पराजित बनेका छन् । कार्कीले ३६ हजार ९ सय २४ र शर्माले २४ हजार ३ सय ५४ मत ल्याएका छन् ।

मोरङ-६ मा डा. शेखर कोइराला पनि पराजित भए । कोइरालाले १२ हजार ८५० मत मात्रै प्राप्त गरे । उनका प्रतिस्पर्धी रास्वपाका उम्मेदवार रुविना आचार्यले ५५ हजार ५१३ मतसहित विजयी भएकी हुन् ।

Share News