ग्राहकलाई प्यान र इमेल ठेगाना अद्यावधिक गर्न एनआईसी एसिया बैंकको अनुरोध

काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहकलाई बैंक खातामा स्थायी लेखा नम्बर (प्यान) र इमेल ठेगाना अद्यावधिक गर्न अनुरोध गरेको छ ।

बैंकका अनुसार ग्राहक खाताबाट काटिएको करको विवरण ‘आयकर ऐन २०५८’ अनुसार नेपाल सरकार, अर्थ मन्त्रालयअन्तर्गतको आन्तरिक राजस्व विभागद्वारा जारी गरिएको प्यान प्रणालीमा आबद्ध गर्नुपर्ने भएकाले प्यान अद्यावधिक आवश्यक भएको हो । ग्राहकले बैंकको पोर्टल वा मोबाइल बैंकिङ एप ‘एनआईसी एशिया मो–बैंक’मा रहेको ‘प्यान अपडेट’ विकल्प प्रयोग गरेर आफ्नो प्यान अद्यावधिक गर्न सक्नेछन् । साथै नजिकको बैंक शाखाबाट समेत आवेदन दिई प्यान अद्यावधिक गर्न सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

बैंकले निक्षेपकर्ताको ब्याज भुक्तानीबाट काटिएको करलाई ई–टिडिएस रेकर्डमा समावेश गर्न प्यान अनिवार्य हुने जनाएको छ । प्यान अद्यावधिक भएपछि ग्राहकको कर कट्टी विवरण स्वतः सम्बन्धित प्यानमा प्रविष्ट हुने र आयकर प्रणालीमार्फत करसम्बन्धी विवरण मिलान हुने बैंकको भनाइ छ ।

त्यस्तै बैंकले ग्राहकलाई आफ्नो खातामा इमेल ठेगाना पनि अद्यावधिक गर्न आग्रह गरेको छ । ग्राहकले बैंकको भिडियो केवाईसी सेवा वा मोबाइल बैंकिङ एपको ‘माइ प्रोफाइल’मा रहेको ‘चेन्ज इमेल’ विकल्पमार्फत इमेल ठेगाना अद्यावधिक गर्न सक्नेछन् । आवश्यक परे नजिकको बैंक शाखामा गई पनि इमेल ठेगाना अद्यावधिक गर्न सकिने बैंकले जनाएको छ ।

यसअघि प्यान वा इमेल अद्यावधिक नगरेका ग्राहकले नजिकको शाखा कार्यालय वा ग्राहक सम्पर्क केन्द्रमा सम्पर्क गरी सेवा लिन सक्ने बैंकले जनाएको छ ।  

Share News