निर्वाचनमा व्यवसायी ‘टाइकुन’हरूको हार

काठमाडौं । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा अधिकांश उद्योगी तथा व्यवसायीहरूले हार बेहोरेका छन् । व्यवसायी क्षेत्रमा सफल भए पनि निर्वाचनमा भने उनीहरू पराजित हुन पुगे ।

निर्वाचनमा सबैभन्दा बढी चर्चा र चासोको केन्द्रमा थिए, नेपालका एकमात्र डलर अर्बपति तथा उद्योगपति विनोद चौधरी । नेपाली कांग्रेसका तर्फबाट पश्चिम नवलपरासी-१ मा उम्मेदवार बनेका चौधरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विक्रम खनालसँग पराजित भए ।

४५ हजार २४१ मतका साथ खनाल विजयी हुँदा चौधरीले मात्र ९ हजार ५०२ मतमा चित्त बुझाउनुपर्यो ।

पर्यटन र मेडिकल क्षेत्रमा लगानी गरेर राजनीतिमा प्रभाव जमाउन खोज्नेहरूका लागि पनि यो निर्वाचन सुखद रहेन । मोरङ-३ बाट नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका मेडिकल व्यवसायी डा. सुनिल शर्मालाई रास्वपाका गणेश कार्कीले १२ हजार बढी मतान्तरले पराजित गरे । शर्मा नोबेल र काठमाडौं मेडिकल कलेजका सञ्चालक हुन् ।

त्यस्तै, पर्यटन व्यवसायीहरूको छाता संगठन (टान) का पूर्वअध्यक्ष रमेशप्रसाद धमला र पर्यटन बोर्डका पूर्वसदस्य कृष्ण रिजालले पनि निर्वाचनमा हार बेहोर्नुपर्यो । धादिङ-१ मा रास्वपाकी आशिका तामाङ र धादिङ-२ मा बोधनारायण श्रेष्ठले पर्यटन व्यवसायीको संसदीय यात्रामा पूर्णविराम लगाइदिए । गोरखा-१ मा पिके भेन्चर्सका सञ्चालक प्रेम खत्रीले रास्वपाका सुधन गुरुङसँग पराजय भोग्नुपर्यो ।

मुक्तिनाथ विकास बैंकका पूर्वअध्यक्ष तथा सीईओ भरतराज ढकाल स्याङ्जा-१ मा पराजित भए । रास्वपाका डा. धनञ्जय रेग्मीले उनलाई १० हजार बढी मतान्तरले पाखा लगाएका हुन् । यस्तै, यशोदा फुड्सका अध्यक्ष चुन्नप्रसाद शर्मा पौडेल रुपन्देही-२ मा तेस्रो स्थानमा खुम्चिए । एमालेका हेभीवेट नेता विष्णु पौडेललाई समेत पराजित गर्दै रास्वपाका सुलभ खरेलले यहाँ बाजी मारे ।

सिरहा-४ मा व्यावसायिक पृष्ठभूमि भएका र माछापुच्छ्रे बैंकका पूर्वअध्यक्ष वीरेन्द्रप्रसाद महतो पनि रास्वपाकै तपेश्वर यादवसँग करिब २८ हजारको विशाल मतान्तरले हारे । उनी अर्बपति उपेन्द्र महतोका भाइ हुन् ।

वैदेशिक रोजगार (म्यानपावर) व्यवसायीहरू एलपी सावाँ लिम्बू र तिलक रानाभाटलाई पनि मतदाताले विश्वास गरेनन् । झापा-४ मा एमालेका सावाँ रास्वपाका शम्भुप्रसाद ढकालसँग र कास्की-१ मा कांग्रेसका रानाभाट रास्वपाकै खडकराज पौडेलसँग नराम्ररी पराजित भए ।

कांग्रेसले झापा क्षेत्र नम्बर ३ मा नेपाल अलैंची व्यवसायी संघका पूर्वअध्यक्ष राजेन्द्र घिमिरेलाई उम्मेदवार बनाएको थियो । घिमिरे पनि रास्वपाका उम्मेदवार प्रकाश पाठकसँग पराजित भए । उनले ८ हजार १ सय १९ मत मात्रै पाएका छन् । पाठकले ३८ हजार ६ सय ७४ मत ल्याएका छन् ।

यस्तै, यातायात व्यवसायी महासंघका अध्यक्ष विजय स्वाँर र गण्डकी यातायातका पूर्वअध्यक्ष भागवतप्रकाश मल्लले क्रमशः कैलाली-२ र स्याङ्जा-२ मा पराजय भोगे । दुवै क्षेत्रमा रास्वपाका उम्मेदवारहरूले क्लिन स्वीप गरे । राजधानी काठमाडौंमा पनि व्यवसायीहरूलाई मतदाताले रुचाएनन् ।

राइड सेयरिङ एप ‘पठाओ’ का सञ्चालक असिममानसिंह बस्न्यात र मिठाइ पसल ‘स्विट केभ’ का सञ्चालक सुमन सायमीले पनि हार बेहोरे । बस्नेतलाई रास्वपाका रञ्जु न्यौपाने र सायमीलाई रास्वपाकै विराजभक्त श्रेष्ठले पराजित गरेका हुन् ।

बस्न्यात काठमाडौं-१ बाट स्वतन्त्र र सायमी नेकपाबाट काठमाडौं-८ मा उम्मेदवार बनेका थिए । 

Share News