अवैध भन्सार छलेर ल्याइएका सामग्री नियन्त्रणमा

काठमाडौं । रूपन्देहीका विभिन्न स्थानबाट प्रहरीले अवैध रूपमा भन्सार छली गरी ल्याइएका ६ लाख रुपैयाँभन्दा बढी मूल्यका सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले जिल्लाका विभिन्न स्थानमा जाँच गर्ने क्रममा अन्दाजी ६ लाख २९ हजार २०० रुपैयाँका विभिन्न सामान नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक जनकबहादुर शाही जानकारी दिए । 

उनका अनुसार बरामद गरिएको सामान आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालय भैरहवा तथा भन्सार कार्यालय बेलहियामा पठाइएको छ । ओमसतिया गाउँपालिका-४ बसन्तपुरबाट अन्दाजी १ लाख २४ हजार रुपैयाँको करिब २० क्विन्टल काँचो केरा बरामद गरिएको छ । त्यसैगरी शुद्धोधन गाउँपालिका-३ पूर्व मैनहिया नयाँबस्तीबाट २७ हजार रुपैयाँको १८० जोर लेडिज चप्पल नियन्त्रणमा लिइएको छ ।

मायादेवी गाउँपालिका-६ खल्बटबाट ७२ हजार ५०० रुपैयाँका एल्बो सकेट १४१ थान, मोबिल ८.५ लिटर, कुरकुरे एक बोरा र सर्फ एक बोरा बरामद गरिएको प्रहरीले जनाएको छ ।

देवदह नगरपालिका-४ केरवानीबाट दुईवटा मोटरसाइकल प्रयोग गरी ल्याइँदै गरेको करिब १३० केजी ब्रोइलर कुखुरा बरामद गरिएको छ । उक्त कुखुराको मूल्य अन्दाजी १ एक लाख २२ हजार रुपैयाँ रहेको छ । यस्तै रोहिणी गाउँपालिका-३ लखनौटियाबाट २२ हजार १०० रुपैयाँको तेल, बिस्कुट, स्प्राइट, सलाइ तथा अन्य किराना सामग्री बरामद गरिएको छ । कोटहीमाई गाउँपालिका-३ प्रसियाघाटबाट दुईवटा मोटरसाइकल प्रयोग गरी ल्याइँदै गरेको बिस्कुट पाँच कार्टुन, चिनी एक बोरा र मैदा दुई बोरा बरामद गरिएको छ, जसको मूल्य अन्दाजी १ लाख ११ हजार ६०० रुपैयाँ रहेको छ ।

त्यसैगरी सिद्धार्थनगर नगरपालिका-३ बुद्धकोलोनीबाट १ लाख ५० हजार रुपैयाँका बेबी सेट ३०० थान, बेबी भेस्ट ४०० थान तथा फलामको चेन पाँच थान बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता कृष्णकुमार चन्दले बरामद गरिएका सामान सम्बन्धित निकायमा पठाइ आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । 

Share News