सन् २००८ को आर्थिक सङ्कट नदोहरिने अर्थशास्त्री अघियोनको दावी

काठमाडौं । मध्यपूर्वमा जारी युद्धले सन् २००८ को जस्तै विश्वव्यापी वित्तीय सङ्कट आउने सम्भावना नरहेको नोबेल पुरस्कार विजेता तथा फ्रान्सेली अर्थशास्त्री फिलिप अघियोनले सोमबार बताएका छन् । 

‘यदि युद्ध लामो समय (धेरै हप्ता)सम्म रहेमा तेलको मूल्य प्रति ब्यारेल १५० डलरभन्दा माथि पुग्छ र यसबाट मुद्रास्फीतिलाई धेरै बढाउने छ र सन् १९७३ को जस्तो तेलको सङ्कटको अवस्था आउनेछ,’ अघियोनले आरटीएल रेडियोसँग भने । 

‘म सम्भावित मन्दी देख्छु तर पतन देख्दिन । उदाहरणका लागि मैले सन् २००८ को वित्तीय सङ्कट जस्तो सम्भावना केही देख्दिन,’ उनले भने । 

सन् १९७३ को योम किप्पुर युद्धमा इजरायललाई समर्थन गर्ने राष्ट्रहरूमाथि तेल निर्यात गर्ने अरब सदस्यहरूको सङ्गठन ओपेकले लगाएको तेल प्रतिबन्धका कारण मूल्यहरू नाटकीय रूपमा बढेको र त्यसले मुद्रास्फीति र आर्थिक गतिरोधमा वृद्धि गरेको थियो ।

‘यस्तो झट्काका लागि युरोपेली देशहरू, संयुक्त राज्य अमेरिका र अन्य विकसित देशहरूको समन्वयमा नीति बनाउने र प्रतिक्रिया दिने गर्नु आवश्यक हुनेछ,’ उनले भने । 

जी-७ का अर्थमन्त्रीहरूले सोमबार बजारलाई शान्त पार्न रणनीतिक तेल भण्डार जारी गर्ने विषयमा छलफल गर्ने अपेक्षा गरिएको छ ।

‘लामो र व्यापक द्वन्द्वले विश्वव्यापी वृद्धिलाई घटाउनेछ,’ रचनात्मक विनाशको माध्यमबाट दिगो वृद्धिमा आफ्नो कामका लागि सन् २०२५ को अर्थशास्त्रमा नोबेल पुरस्कार पाएका अघियोनले भने । 

सन् २००८ को विश्वव्यापी वित्तीय सङ्कट अमेरिकी घरजग्गाको पतनको कारण उत्पन्न भएको थियो । 

Share News