काठमाडौं । सन् २०२६ को जनवरी–फेब्रुअरी अवधिमा चीनको व्यापार अधिशेष (व्यापार अधिशेष- ट्रेड सरप्लस भन्नाले कुनै पनि देशको अर्थतन्त्रको यस्तो अवस्थालाई बुझाउँछ जहाँ उक्त देशले विदेशमा गर्ने निर्यातको कुल मूल्य, विदेशबाट गरिने आयातको कुल मूल्य भन्दा बढी हुन्छ ।) इतिहासकै उच्च स्तरमा पुगेको छ । यस अवधिमा चीनको निर्यातले अर्थशास्त्रीहरूको अनुमानभन्दा निकै राम्रो प्रदर्शन गरेको देखिएको छ, जसले अमेरिकासँगको व्यापार तनावका बाबजुद विश्वको दोस्रो ठूलो अर्थतन्त्रको लचकता अझै बलियो रहेको संकेत गर्दछ ।
चीनले प्रायः चन्द्र पात्रोअनुसार हुने नयाँ वर्ष (लुनार न्यु इयर) का कारण आउने तथ्यांकको उतार–चढावलाई सन्तुलित बनाउन जनवरी र फेब्रुअरीको व्यापार तथ्यांकलाई एउटै अवधिमा समेटेर सार्वजनिक गर्नेगर्छ ।
यस अवधिमा चीनको व्यापार सन्तुलन २१३.६२ अर्ब अमेरिकी डलर पुगेको छ, जुन १७९.६ अर्ब डलर हुने अनुमानभन्दा निकै बढी हो ।
जनवरी–फेब्रुअरी अवधिमा चीनको निर्यात वार्षिक आधारमा २१.८ प्रतिशतले बढेको छ, जुन रोयटर्सले सर्वेक्षण गरेका अर्थशास्त्रीहरूले अनुमान गरेको ७.१ प्रतिशत वृद्धिभन्दा धेरै हो ।
त्यसैगरी, आयात पनि उल्लेख्य रूपमा बढेको छ । सीमा शुल्क विभागका अनुसार पहिलो दुई महिनामा आयात वार्षिक आधारमा १९.८ प्रतिशतले बढेको छ, जबकि अर्थशास्त्रीहरूले ६.३ प्रतिशत वृद्धिको मात्र अपेक्षा गरेका थिए ।
सरकारी तथ्यांकअनुसार अमेरिकासँगको व्यापार भने १६.९ प्रतिशतले घटेर ६०९.७१ अर्ब युआन (करिब ८८.२२ अर्ब डलर) मा झरेको छ । तर युरोपेली संघ (ईयू) सँगको व्यापार १९.९ प्रतिशतले बढेर ९९८.९४ अर्ब युआन पुगेको छ । दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन (एएसईएएन) सँगको व्यापार पनि २०.३ प्रतिशतले बढ्दै १.२४ ट्रिलियन युआन पुगेको छ ।
यो व्यापार तथ्यांक चीनमा उपभोक्ता मुद्रास्फीतिमा तीन वर्षयताकै ठूलो वृद्धि देखिएको समयमा सार्वजनिक भएको हो । लामो बिदाका कारण बढेको खर्चले उपभोक्ता मूल्य सूचकांक (सीपीआई) बढ्न सहयोग गरेको बताइएको छ ।
पिनप्वाइन्ट एसेट म्यानेजमेन्टका अध्यक्ष तथा प्रमुख अर्थशास्त्री झीवेइ झाङले तथ्यांक सार्वजनिक भएपछि जारी टिप्पणीमा भनेका छन् कि अपेक्षाभन्दा राम्रो देखिएको वृद्धि आंशिक रूपमा यस वर्ष लुनार नयाँ वर्ष ढिलो परेका कारण पनि हुन सक्छ । यसले गत वर्षको तुलनामा वार्षिक वृद्धिदर बढी देखिएको हुन सक्छ । तर उनले यो कारणले मात्र सबै आश्चर्यजनक नतिजा व्याख्या गर्न नसक्ने पनि बताएका छन् ।
झाङका अनुसार निर्यातको बलियो प्रदर्शन र बेइजिङको वार्षिक ‘टु सेसन्स’ नीति बैठकमा तोकिएको अपेक्षाकृत कम आर्थिक वृद्धिदर लक्ष्यले निकट भविष्यमा थप आर्थिक प्रोत्साहन कार्यक्रम ल्याइने सम्भावना कम रहेको संकेत गर्छ ।
उक्त ‘टु सेसन्स’ बैठकमा चीनका प्रधानमन्त्री ली छ्याङले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धिदरको लक्ष्य ४.५ देखि ५ प्रतिशत राखेका छन्, जुन सन् १९९० को दशकको सुरुवातयताकै सबैभन्दा न्यून दायरा हो ।
चीनको उपभोक्ता मूल्य सूचकांक (सीपीआई) फेब्रुअरीमा वार्षिक आधारमा १.३ प्रतिशतले बढेको छ, जुन रोयटर्स सर्वेक्षणमा अर्थशास्त्रीहरूले अनुमान गरेको ०.८ प्रतिशतभन्दा बढी हो । जनवरीमा ०.२ प्रतिशतले बढेको सीपीआईपछि आएको यो वृद्धि जनवरी २०२३ पछिकै सबैभन्दा बलियो पुनरुत्थान मानिएको छ ।
यसैबीच ‘टु सेसन्स’ बैठकमा आर्थिक लक्ष्य प्रस्तुत गर्दै प्रधानमन्त्री ली छ्याङले अमेरिकी भन्सार शुल्क (ट्यारिफ) का प्रभावहरू पनि स्वीकार गरेका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सन् २०२५ जनवरीमा पुनः ह्वाइट हाउस फर्किएपछि चीन र अमेरिका फेरि व्यापार युद्धको अवस्थामा पुगेका थिए । २०२५ भरि दुवै देशले एकअर्काका सामानमा भन्सार शुल्क बढाउने र घटाउने क्रम जारी राखेका थिए ।
तर अक्टोबरमा दक्षिण कोरियाको बुसानमा भएको एपीईसी शिखर सम्मेलनका क्रममा डोनाल्ड ट्रम्प र सी जिनपिङबीच भेटवार्ता भएपछि सम्बन्ध केही सुधारिएको थियो ।
हाल अमेरिकी सर्वोच्च अदालतले अन्तर्राष्ट्रिय आपतकालीन आर्थिक अधिकार ऐन अन्तर्गत लगाइएका ट्रम्पका केही ट्यारिफ खारेज गरेपछि चिनियाँ सामानमा अमेरिकी भन्सार शुल्क विश्वव्यापी १० प्रतिशत स्तरमा रहेको छ।
यद्यपि सन् १९७४ को ट्रेड एक्टको धारा ३०१ र सन् १९६२ को ट्रेड एक्सपान्सन एक्टको धारा २३२ अन्तर्गत लगाइएका पुराना ट्यारिफहरू भने अझै केही वस्तुहरूमा लागू छन्, जसको दर कतिपयमा १०० प्रतिशतसम्म पुग्छ ।
व्यापार विश्लेषण संस्था चाइना ब्रीफिङका अनुसार विभिन्न प्रकारका करहरूका कारण अमेरिकामा पठाइने धेरै चिनियाँ सामानमा प्रभावकारी ट्यारिफ दर अझै पनि करिब ३० प्रतिशतको आसपास रहेको छ, जुन कुनै पनि देशको तुलनामा सबैभन्दा उच्च दरमध्ये एक हो ।