एनआरएनए उपाध्यक्षमा ददिवल खड्काको उम्मेदवारी घोषणा

काठमाडौं । जापानलाई कर्मथलो बनाएर लामो समयदेखि सामाजिक तथा व्यावसायिक क्षेत्रमा सक्रिय रहँदै आएका समाजसेवी तथा व्यवसायी ददिवल खड्काले गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकालका लागि उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

खड्काले सन् २०२५–२०२७ कार्यकालका लागि उम्मेदवारी सार्वजनिक गर्दै विदेशमा रहेका नेपालीहरूको अधिकार संरक्षण, नेपालमा लगानी प्रवर्द्धन तथा विश्वभर फैलिएको नेपाली समुदायबीच सहकार्यलाई मजबुत बनाउने लक्ष्यसहित नेतृत्वमा आउन चाहेको बताएका छन् ।

जापानस्थित नेपाली समुदायमा सक्रिय अभियन्ताका रूपमा चिनिने खड्का डेढ दशकभन्दा बढी समयदेखि एनआरएनए अभियानसँग आबद्ध रहँदै आएका छन् । विभिन्न सामाजिक, सांस्कृतिक तथा सामुदायिक कार्यक्रममा अग्रसर भूमिका निर्वाह गर्दै आएका उनले संस्थालाई अझ प्रभावकारी, पारदर्शी र उत्तरदायी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनका अनुसार एनआरएनए विदेशमा बस्ने नेपालीहरूको साझा संस्था मात्र नभई नेपाल र विश्वभर फैलिएको नेपाली समुदायलाई जोड्ने महत्वपूर्ण माध्यम हो । त्यसैले संस्थाको नेतृत्वले विश्वभर रहेका नेपालीहरूको साझा हितलाई केन्द्रमा राखेर काम गर्नुपर्ने उनको धारणा छ ।

जापानमा आयोजना हुने नेपाल फेस्टिवल, सांस्कृतिक कार्यक्रम, सामाजिक अभियान तथा विपद् राहत सहयोगलगायत गतिविधिमा खड्काको सक्रिय सहभागिता रहँदै आएको छ । साथै नेपाली समुदायबीच सहकार्य र समन्वय बढाउने, नयाँ पुस्तालाई सामाजिक अभियानमा जोड्ने तथा नेपाली भाषा, संस्कृति र पहिचान प्रवर्द्धन गर्ने कार्यमा पनि उनी सक्रिय छन् ।

खड्का जापानमा सफल व्यवसायीका रूपमा समेत परिचित छन् । व्यवसायिक गतिविधिमार्फत नेपालीहरूका लागि रोजगारी तथा अवसर सिर्जना गर्ने प्रयास गर्दै आएका उनी जापानस्थित नेपाली व्यवसायी संघ जापानका वरिष्ठ उपाध्यक्षलगायत विभिन्न संघसंस्थासँग आबद्ध छन् ।

एनआरएनए अभियानमा उनको लामो अनुभव रहेको छ । यसअघि उनी सन् २०१७–२०१९ मा एनआरएनए जापानको सल्लाहकार, सन् २०१९–२०२१ मा अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) सदस्य तथा सन् २०२१–२०२३ मा एनआरएनए एसिया–प्यासिफिक उपसंयोजकको जिम्मेवारी सम्हालिसकेका छन् ।

उम्मेदवार खड्काले विदेशमा रहेका नेपालीहरूले भोग्ने कानुनी तथा प्रशासनिक समस्याको समाधान, प्रवासी नेपालीहरूको सीप, अनुभव र पूँजी नेपालमा लगानी गर्न प्रोत्साहन, दोस्रो पुस्ताका युवालाई एनआरएनए अभियानमा जोड्ने तथा संस्थाभित्र देखिने विभाजन अन्त्य गरी पारदर्शी र एकताबद्ध संगठन निर्माण गर्ने एजेन्डा अघि सारेका छन् ।

एनआरएनएको १२औँ महाधिवेशन आगामी मार्च १४ देखि १६ सम्म काठमाडौंमा आयोजना हुँदैछ, जहाँबाट नयाँ नेतृत्व चयन हुने कार्यक्रम रहेको छ ।

Share News