काठमाडौं । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा ४ ऊर्जा उद्यमी संसदमा प्रवेश गरेका छन् । चारै जना ऊर्जा उद्यमी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बनेका श्रीराम न्यौपाने तनहुँ-२, भरतप्रसाद पराजुली सिन्धुपाल्चोक-१, जगदीश खरेल दोलखा तथा दीपककुमार साह विजयी भएका हुन् ।
रास्वपाका ऊर्जा तथा जलस्रोत विभाग प्रमुखसमेत रहेका श्रीराम न्यौपानेले तनहुँ-२ मा ३२ हजार ६८७ मत प्राप्त गर्दै विजय हासिल गरे । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका शंकर भण्डारीले १४ हजार १३५ मत पाए । नागढुङ्गा सुरुङमार्ग आयोजनाका पूर्व आयोजना निर्देशकसमेत रहेका न्यौपाने सुरुङ निर्माण र ऊर्जा क्षेत्रका विज्ञका रूपमा परिचित छन् ।
यसैगरी, ऊर्जा उद्यमी भरतप्रसाद पराजुली २४ हजार ४१२ मतसहित सिन्धुपाल्चोक-१ बाट विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपाका माधव सापकोटाले १७ हजार ३२७ मत प्राप्त गरे । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का केन्द्रीय सदस्यसमेत रहेका पराजुली एकीकृत व्यापार कम्पनी तथा ब्रम्हायणी हाइड्रोपावरका अध्यक्ष हुन् । उनी लामो समयदेखि ऊर्जा क्षेत्र र सामाजिक कार्यमा सक्रिय छन् ।
यस्तै, दोलखाबाट जगदीश खरेल ३२ हजार ३७६ मतसहित निर्वाचित भएका छन् । उनी ऊर्जा उद्यमी कुमार खरेलका भाइ हुन् । उनको श्रीस्कार हाइड्रोपावर कम्पनी छ । खरेलका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पार्वत गुरुङले १७ हजार ४४९ मत प्राप्त गरे ।
खरेलले १४ हजार ९२७ मतान्तरले जित हात पारेका हुन् । सो क्षेत्रमा नेकपाका विशाल खड्काले १३ हजार ६५ मत तथा नेपाली कांग्रेसका अजयबाबु शिवाकोटीले १२ हजार २९८ मत प्राप्त गरेका छन् ।
यसैगरी, सुनसरी-४ बाट दीपककुमार साह ४२ हजार ७७१ मतसहित विजयी भएका छन् । ऊर्जा व्यवसायीसमेत रहेका साहले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीलाई पछि पारे ।
कार्कीले १६ हजार ५८७ मत प्राप्त गरे भने नेकपा एमालेका जगदिशप्रसाद कुसियैतले ८ हजार ६३१ मत र नेकपा (माओवादी) का महमद महफुज अन्सारीले ३ हजार ४३२ मत प्राप्त गरे । शाह इन्जिनियर, ऊर्जा विशेषज्ञ र समुदाय सशक्तीकरणका पहलकर्ता पनि हुन् । उनी पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट मेकानिकल इन्जिनियरिङमा स्नातक र प्राकृतिक स्रोत विकासमा स्नातकोत्तर छन् ।
२३ वर्षभन्दा बढी समयदेखि उनी जलविद्युत् परियोजनाहरूमा इन्जिनियर, विशेषज्ञ र व्यवस्थापकको रूपमा सक्रिय छन् । उनले जलविद्युत् आयोजना सञ्चालन, मर्मतसम्भार, प्राविधिक निरीक्षण र नीति-व्यवस्थापनमा अनुभव हासिल गरेका छन् ।
ऊर्जा क्षेत्रका विज्ञ तथा व्यवसायीहरू संसदमा प्रवेश गरेसँगै ऊर्जा नीति, जलस्रोत विकास तथा पूर्वाधार निर्माणका विषय संसदमा थप प्राथमिकतामा पर्ने अपेक्षा गरिएको छ ।