काठमाडौं । शर्मा एण्ड कम्पनीले सन् २०२५ मा करिब ३ अर्ब ९३ करोड ५० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यो अघिल्लो वर्षको तुलनामा करिब ८.४३ प्रतिशत अर्थात् ३० करोड ६० लाख रुपैयाँ बढी हो । सन् २०२४ मा कम्पनीको सञ्चालन आम्दानी ३ अर्ब ६२ करोड ९० लाख रुपैयाँ रहेको थियो ।
कम्पनीका अनुसार विगतका वर्षहरूमा पनि आम्दानीमा वृद्धि देखिएको छ । सन् २०२३ मा ३ अर्ब ६२ करोड ५० लाख रुपैयाँ, सन् २०२२ मा २ अर्ब ४७ करोड ६० लाख रुपैयाँ, सन् २०२१ मा १ अर्ब ८९ करोड ९० लाख रुपैयाँ, सन् २०२० मा ८८ करोड ३२ लाख रुपैयाँ र सन् २०१९ मा १ अर्ब ५६ करोड ८१ लाख रुपैयाँ सञ्चालन आम्दानी भएको थियो ।
निर्माण क्षेत्रमा लामो समयदेखि आफ्नो पहिचान बनाउँदै आएको शर्मा एण्ड कम्पनीको प्रारम्भिक सञ्चालन सन् १९६६ मा राधा कृष्ण शर्माले गरेका हुन् । तर औपचारिक रूपमा सन् १९८० मा दर्ता भई सञ्चालनमा आएको हो । नेपाल सरकारले शर्मा एण्ड कम्पनीलाई ‘क्लास–ए ठेकेदार’ को रूपमा मान्यता दिएको छ । कम्पनी सडक, भवन, पुल, खानेपानी तथा अन्य निर्माण परियोजनामा आफ्नो उपस्थिति कायम राख्दै आएको छ । कम्पनी शर्मा परिवारको स्वामित्वमा आधारित कम्पनी हो । अध्यक्ष रमेश शर्माले करिब ६७ प्रतिशत सेयर धारण गरेका छन् भने बाँकी सेयर लता बराल शर्मा, सौरव शर्मा र रमेश प्रसाद सुबेदीको स्वामित्वमा रहेको छ ।
कम्पनीका अनुसार धेरै ठूला परियोजना ज्वाइन्ट भेञ्चरमा निर्भर छन्, जसले परियोजना सम्पन्नमा ढिलाइको जोखिम बढाउन सक्छ । केही ठेक्का समयमै सम्पन्न नहुनु, सरकारी पुँजी खर्चमा ढिलाइ र सार्वजनिक खरिद नीतिमा बारम्बार परिवर्तन जस्ता कारणले परियोजनाको प्रगति प्रभावित भइरहेको छ ।
अहिले कम्पनीसँग जम्मा १९ अर्ब रुपैयाँ बराबरका ठेक्का सम्पादन गर्न बाँकी रहेका छन् । नेपालको निर्माण क्षेत्र अत्यन्त प्रतिस्पर्धात्मक रहेको र सार्वजनिक परियोजनाहरूको बोलपत्र प्रक्रिया तथा ढिलो पुँजी खर्चले भविष्य राजस्व प्रवाहमा अनिश्चितता सिर्जना गर्न सक्ने कम्पनीले जनाएको छ । शर्मा एण्ड कम्पनीका परियोजनाहरू मुख्य रूपमा सडक र भवन क्षेत्रमा ९० प्रतिशत केन्द्रित छन् ।
कम्पनीले विभिन्न बैंक र वित्तीय संस्थाबाट २८ करोड ६० लाख रुपैयाँ दीर्घकालीन र १५ अर्ब १५ करोड ३० लाख रुपैयाँ अल्पकालीन ऋण गरी कुल १५ अर्ब ४३ करोड ९० लाख रुपैयाँ ऋण लिएको छ । अघिल्लो वर्ष कम्पनीको कुल ऋण १४ अर्ब ५५ करोड २१ लाख रुपैयाँ थियो, जसमा १३ करोड ७० लाख दीर्घकालीन र १४ अर्ब ४१ करोड ५१ लाख अल्पकालीन ऋण लिएको थियो ।