काठमाडौं । संघीय संसदको प्रतिनिधि सभामा यसपटक यातायात तथा अटोमोबाइल क्षेत्रबाट तीन जना व्यवसायी निर्वाचित भएका छन् । देशका विभिन्न निर्वाचन क्षेत्रबाट तीनै जना यातायात व्यवसायी चुनावी होमिएका थिए । विजयी हुनेमा मध्यपश्चिम यातायात प्रालिका अध्यक्ष विष्णुबहादुर खड्का सुर्खेत क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
नेपाली कांग्रेसबाट चुनावी मैदानमा होमिएका खड्काले २६ हजार ८९७ मत ल्याउँदै जित हासिल गरे भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका ध्रुवकुमार शाहीले १८ हजार ८९० मत प्राप्त गरे । निर्वाचित खड्का कांग्रेस नेता पूर्णबहादुर खड्काका भाइ समेत हुन् ।
त्यस्तै काँक्रेविहार यातायात प्रालिका अध्यक्ष रमेशकुमार सापकोटा सुर्खेत क्षेत्र नम्बर २ बाट निर्वाचित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सापकोटाले ३० हजार ८२६ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका नारायणकुमार कोइरालाले १६ हजार ३९२ मत प्राप्त गरे ।
यसैगरी अटोमोबाइल व्यवसायी पारशमणि गेलाल उदयपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । रास्वपाबाट उम्मेदवार बनेका उनले ३० हजार ५९० मत ल्याउँदै जित हासिल गरे । उनका निकटतम प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका राजेशकुमार राई ११ हजार ६०६ मतमा सीमित भए ।
गेलाल लामो समयदेखि अटोमोबाइल व्यवसायमा सक्रिय छन् । उनी नेपालका लागि स्काइवेल गाडीको आधिकारिक बिक्रेता जी मोटर्सका सञ्चालक हुन् । यसअघि उनले रेनो, निसान, बीवाइडी लगायत ब्राण्डका शोरुम सञ्चालन गरेका थिए । स्नातकोत्तर तहसम्म अध्ययन गरेका गेलाल रास्वपाको केन्द्रीय उद्योग तथा वाणिज्य विभागका सचिव समेत हुन् ।
यद्यपि सबै व्यवसायी सफल हुन सकेनन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँर भने चुनावमा पराजित भएका छन् । नेपाली कांग्रेसबाट कैलाली क्षेत्र नम्बर २ मा उम्मेदवार बनेका उनी ५ हजार २९६ मतसहित चौथो स्थानमा रहे । उक्त क्षेत्रमा रास्वपाका केपी खनाल १६ हजार २४८ मतसहित विजयी भए ।
यसैबीच गण्डकी यातायातका संरक्षक भागवतप्रकाश मल्ल भने स्याङ्जा क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसको तर्फबाट चुनावी मैदानमा होमिएका थिए तर विजयी हुन सकेनन् । रास्वपाका झवि लाल डुम्रे विजयी भएका छन् । उनी २५ हजार ३५४ मत प्राप्त गर्दै निर्वाचित भए भने मल्लले २० हजार ८३० मत पाएका छन् ।
यातायात तथा अटोमोबाइल क्षेत्रका समस्या समाधान, नीतिगत सुधार र पूर्वाधार विकासका एजेण्डासहित चुनावी मैदानमा उत्रिएका यी व्यवसायीहरूको संसद् प्रवेशले आगामी दिनमा यातायात क्षेत्रसँग सम्बन्धित नीतिगत बहसलाई थप सशक्त बनाउने अपेक्षा अटो क्षेत्रले गरेको छ ।