यी हुन् निर्वाचनमा पराजित ७ पूर्वगृहमन्त्री

काठमाडौं । चैत्र २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा ७ पूर्व गृहमन्त्रीहरू पराजित भएका छन् । विभिन्न सरकारमा सहभागी भएका पूर्वगृहमन्त्रीहरू पराजित भएसँगै यसपटकको संसदमा नदेखिने भएका हुन् । 

दुई पटक गृहमन्त्री बनेका नारायणकाजी श्रेष्ठ सर्लाही- ३ मा पराजित भए । उनले नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट उम्मेदवारी दिएका थिए ।

सर्लाही- ३ मा नरेन्द्र साहले ४६ हजार ८ सय ९० मत प्राप्त गर्दै विजयी भएका हुन् । श्रेष्ठले १३ हजार ३ सय ३८ मत प्राप्त गरे ।

श्रेष्ठ पहिलोपटक विसं २०६८ साउन ४ गतेबाट भदौ ३ गतेसम्म र दोस्रो पटक विसं २०७९ चैत १२ गतेदेखि विसं २०८० फागुन २१ गतेसम्म गृहमन्त्री भएका थिए । 

रुकुम-पश्चिमबाट पूर्वगृहमन्त्री जनार्दन शर्मा पनि पराजित भएका छन् । गतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट उम्मेदवार दिएका शर्मालाई नेकपाका उम्मेदवार गोपाल शर्माले हराएका हुन् । शर्माले १४ हजार ३ सय ४६ मत पाउँदा शर्माले २१ हजार ६ सय ९ मत  पाएका थिए । 

शर्मा विसं २०७४ असार १२ गतेदेखि असोज ३१ गतेसम्म गृहमन्त्री भएका थिए ।

त्यस्तै, जाजरकोटबाट पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेत पराजित भएका छन् । उनलाई नेपाली कांग्रेसका खड्गबहादुर बुढाले हराएका हुन् । बुढाले २० हजार १४२ मत ल्याउँदा बस्नेतले १७ हजार ४०७ मत प्राप्त गरे ।

बस्नेत विसं २०७२ असोज १ गतेबाट विसं २०७३ साउन २० गतेसम्म गृहमन्त्री भएका थिए ।

सुनसरी- ३ बाट पूर्वगृहमन्त्री विजयकुमार गच्छदार पनि पराजित भए । उनी रास्वपाका अशोक चौधरीसँग पराजित भएका हुन् । चौधरीले ४७ हजार ४२१ मत प्राप्त गर्दा गच्छदारले २० हजार ५०१ मत पाए । 

गच्छदार विसं २०६८ भदौ १२ गतेदेखि विसं २०६९ फागुन ३० गतेसम्म गृहमन्त्री भएका थिए ।

कांग्रेसका प्रभावशाली नेता तथा पूर्वगृहमन्त्री विमलेन्द्र निधि पनि यसपटकको निर्वाचनमा पराजित बनेका छन् । उनी रास्वपाका मनिष झासँग पराजित भएका हुन् । झाले ४३ हजार ९८८ मत प्राप्त गर्दा निधिले १६ हजार ६५२ मत पाए । 

निधि विसं २०७३ साउन २० गतेदेखि विसं २०७४ जेठ २४ गतेसम्म गृहमन्त्री भएका थिए ।

त्यसैगरी, नेकपाका नेता भीमबहादुर रावल पराजित भएका छन् । उनी नेपाली कांग्रेसका भरतकुमार स्वारसँग पराजित भएका हुन् । रावलले रावल १० हजार २३३ मत ल्याउँदा स्वारले १० हजार ७५९ मत प्राप्त गरे ।

रावल विसं २०६६ असार ३ गतेदेखि २०६७ माघ २२ गतेसम्म गृहमन्त्री भएका थिए ।

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली गृहमन्त्रीसमेत भइसकेका छन् । ओली विसं २०५१ मङ्सिर १४ गतेदेखि विसं २०५२ असोज ५ गतेसम्म गृहमन्त्री भएका थिए । 

झापा ५ बाट उम्मेदवार बनेका ओली रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहसँग पराजित भएका हुन् । उनले १८ हजार ७३४ मत प्राप्त गर्दा शाहले ६८ हजार ३४८ मत प्राप्त गरे ।

Share News