त्रासले बिक्रीतर्फ लागे लगानीकर्ता, २१ अर्ब ५० करोडको कारोबार

काठमाडौं । साेमबार ६ प्रतिशतले सकारात्मक सर्किट लागेर एक घण्टामै बन्द भएको सेयर बजार मंगलबार दोहोरो अंकको गिरावट आएको छ । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १.११ प्रतिशत अर्थात् ३२.०८ अंक घटेर २ हजार ८४३.३५ अंकमा बन्द भएको छ । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६ प्रतिशत अर्थात् १६२.४३ अंकले बढेर २ हजार ८७५ अंकमा बन्द भएको थियो ।

दिनभर बजारमा उतारचढाव हुँदा साढे २१ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार आज ३२९ कम्पनीको ५ करोड २७ लाख ११ हजार ३५३ कित्ता सेयर २ लाख ५ हजार ६११ पटक खरिदबिक्री हुँदा २१ अर्ब ५० करोड २० लाख ३१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।  

सेयर बजारमा पछिल्लो समय देखिएको उतारचढावलाई लिएर लगानीकर्ता देव गुरागाईंले केही लगानीकर्तामा डरका कारण बिक्री बढेको बताए । उनका अनुसार बजारमा डरको वातावरण देखिए पनि सोही अनुपातमा केही लगानीकर्ताले भने सक्रिय रूपमा सेयर खरिद गरेका छन् । आज सेयर बेच्ने लगानीकर्ताहरूले भविष्यमा पश्चाताप गर्नुपर्ने अवस्था आउन सक्ने उनको अनुमान छ ।

‘केही लगानीकर्ता अन्तर्राष्ट्रिय प्रभाव पर्छ कि भन्ने डरले बिक्रीतर्फ लागेका छन् । तर खरिद गर्न बसेका लगानीकर्ताले भने आज राम्रो अवसर पाएर मस्त खरिद गरेका छन्,’ उनले भने । उनका अनुसार बजारमा आन्तरिक रूपमा ठूलो नकारात्मक प्रभाव भने परेको छैन । अहिले सरकार गठन प्रक्रिया समेत पूरा भइसकेको छैन र मतगणना पनि सम्पन्न भइसकेको अवस्था छैन । यस्ता परिस्थितिमा विभिन्न हल्लाका कारण लगानीकर्ताहरू डराएर बिक्री गर्न थालेको उनले उल्लेख गरे ।

‘भारतमा ग्यास अभाव भएको, विश्वविद्यालयहरू बन्द भएको जस्ता हल्लाहरू फैलिँदा बजारमा मनोवैज्ञानिक दबाब सिर्जना भएको छ । तर यस्ता हल्लाले दीर्घकालीन रूपमा बजारलाई असर गर्दैनन्,’ उनले भने, ‘अन्तर्राष्ट्रिय स्तरमा पनि सकारात्मक संकेत देखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत युद्धविरामको सम्भावना रहेको अभिव्यक्ति दिनु भएको छ । अब बजारमा ठूलो नकारात्मक प्रभाव पर्ने आधार छैन ।’ 

नेप्सेका अनुसार दिनभर कारोबारमा आएका कम्पनीहरुमध्ये ७८ कम्पनीको सेयर मूल्य बढेको छ भने १७८ कम्पनीको सेयर मूल्य बढेको छ । तर, विभिन्न ५ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको नेप्सेले जनाएको छ । 

नेप्सेका अनुसार मंगलबार बैंकिङ समूह १.२७ प्रतिशत, विकास बैंक समूह १.१६ प्रतिशत, फाइनान्स समूह २.०६ प्रतिशत, होटल तथा पर्यटन समूह १.८५ प्रतिशत, जलविद्युत समूह १.४५ प्रतिशत, लगानी समूह १.४८ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह १ं८२ प्रतिशत, लघुवित्त समूह ०.१७ प्रतिशत, अन्य समूह १.४० प्रतिशत र व्यापार समूह २.१२ प्रतिशत घटेको छ । तर, आज जीवन बीमा समूह ०.५१ प्रतिशत, निर्जीवन बीमा समूह ०.४७ प्रतिशत र म्युचुअल फण्ड समूह ०.४७ प्रतिशत बढेको छ । 

मंगलबार रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्य १० प्रतिशत र सालपा विकास बैंकको ९.९९ प्रतिशत बढेको छ । जबकि सोमबार अधिकांश सेयर मूल्य बढ्दा रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्य घटेको थियो । 

नेप्सेका अनुसार ङादी ग्रुप पावरको सेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको १ अर्ब ९ करोड ७३ लाख ५५ हजार रुपैयाँको सेयर कारोबार भएको छ । यस्तै, आँख खोला जलविद्युत कम्पनीको ६९ करोड ६४ लाख ३८ हजार रुपैयाँ, अपि पावरको ६१ करोड ६८ लाख रुपैयाँ, रिडी पावरको ५९ करोड ८७ लाख रुपैयाँ र शिवम् सिमेन्टको ४८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

Share News