काठमाडौं । राइड–शेयरिङ प्लेटफर्म इनड्राइभले नेपालमा ड्राइभर पार्टनर्सका लागि केवल ०.०१ प्रतिशत सेवा शुल्क लागू गरेको जनाएको छ । चालक साझेदारहरूको आम्दानीलाई प्राथमिकता दिने उद्देश्यसहित ल्याइएको यस व्यवस्थाले ड्राइभरहरूलाई आफ्नो कमाइको झण्डै सम्पूर्ण हिस्सा आफैं राख्न सक्ने अवसर प्रदान गर्ने कम्पनीको भनाइ छ ।
कम्पनीका अनुसार शहरको दैनिक यातायात व्यवस्थालाई गतिशील बनाइराख्ने चालकहरूको योगदानलाई सम्मान गर्दै उनीहरूको आर्थिक बोझ कम गर्ने लक्ष्यसहित यो विशेष क्याम्पेन सुरु गरिएको हो । यस कदमले ड्राइभरहरूलाई थप प्रोत्साहन मिल्नुका साथै निष्पक्ष र पारदर्शी राइड–शेयरिङ प्रणालीलाई अझ मजबुत बनाउने विश्वास कम्पनीले व्यक्त गरेको छ ।
इनड्राइभले चालक साझेदारहरूलाई सेवा प्रदायक मात्र नभई प्लेटफर्मको सफलताका महत्वपूर्ण साझेदारका रूपमा सम्मान गर्ने उद्देश्यले सहुलियतपूर्ण सेवा शुल्क लागू गरिएको जनाएको छ । चालकहरूको मेहनत, समर्पण तथा यात्रुहरूलाई सुरक्षित र भरपर्दो सेवा उपलब्ध गराउने भूमिकाको कदरस्वरूप यस्तो व्यवस्था गरिएको कम्पनीको भनाइ छ ।
यसैबीच, इनड्राइभसँग आबद्ध चालक मिलन तामाङले नयाँ सेवा शुल्क संरचनाले दैनिक आम्दानी बढ्नुका साथै कामप्रतिको उत्साह र ड्राइभरहरूको समग्र अनुभवमा सकारात्मक प्रभाव पार्ने बताएका छन् ।