कालिन्चोक हाइड्रोको आईपीओमा आवेदन दिने समय लम्बियो, अब कहिलेसम्म पाइन्छ ?

काठमाडौं । कालिन्चोक हाइड्रोपावरको आईपीओमा आवेदन दिने समय चैत १२ गतेसम्म लम्बिएको छ । फागुन १३ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले अब चैत १२ गतेसम्म आवेदन दिन सक्ने भएका छन् । यद्यपि, मागभन्दा बढी आवेदन परेमा अगाडि पनि निष्काशन बन्द गरिने कम्पनीले जनाएको छ।

कम्पनीले जारी पुँजी ५५ करोड रुपैयाँको २५ प्रतिशत अर्थात् १३ करोड ७५ लाख रुपैयाँको अंकित मूल्य १ सय रुपैयाँ दरका १३ लाख ७५ हजार कित्ता सेयर जारी गरेकाे हाे । जसमध्ये १० प्रतिशत अर्थात् ५ लाख ५० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई छुट्याएको छ । आयोजना प्रभावितलाई छुट्याएको सेयरमा दोलखाको बिगु नगरपालिका-८, कालिन्चोक गाउँपालिका-१ र २ का स्थानीयले आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम १० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

स्थानीय बासिन्दाले बिक्री प्रबन्धकका साथै कालिन्चोक हाइड्रोपावर, बिगु गाउँपालिका-८, नेपाल बैंक, सिन्धु विकास बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सिङगटी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । 

Share News