दाउन्नेमा ५ वटा सवारी एकापसमा ठोक्किए, ८ जना घाइते

काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को दाउन्नेमा पाँचवटा सवारीसाधन एकापसमा ठोक्किदा ८ जना घाइते भएका छन् ।

विनयी त्रिवेणी गाउँपालिका-२ घिउखोला नजिक गए राति सुनौलीबाट पूर्वतर्फ आइरहेको भारतमा दर्ता भएको ‘कन्टेनर’ले एकतर्फी सडकमा ‘ओभरटेक’ गर्ने क्रममा ती सवारीसाधन एकापसमा ठोक्किएका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युवराज खड्काले बताए । 

दुर्घटनामा मोटरसाइकल चालक कालिकोट रास्कोट नगरपालिका-६ का करिब ३० वर्षीय अमर कार्की, सोही मोटरसाइकल पछाडि सवार रास्कोट-७ का करिब २५ वर्षीय महेन्द्र महतारा घाइते भएका छन् । 

त्यसैगरी यात्रीवाहक एउटा बसमा सवार ६ जना घाइते भएका छन् । प्रहरीका अनुसार रोल्पा स्मृति गाउँपालिका-४ का बस चालक शङ्कर विष्ट, रामेछाप मन्थली नगरपालिका-१२ का विनोदकुमार अछामी, रोल्पा नगरपालिका-४ लिवाङका उदीराम विष्ट, धरान-१५ का नाम्नुहाङ राई, रोल्पा नगरपालिका-२ का दर्शन पोख्रेल, सुनसरी नगरपालिका-५ का चन्द्रसिंह थापा तथा प्युठान स्वर्गद्वारी नगरपालिका-७ का ६० वर्षीय यज्ञप्रसाद भुसाल घाइते भएका छन् । 

घाइते भएका सबैलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा लगिएको छ । दुर्घटनामा संलग्न कन्टेनर चालक भने फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि अवरुद्ध भएको राजमार्ग खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

Share News