फक्सवागनले ५० हजार रोजगारी कटौती गर्ने

काठमाडौं । जर्मनीको मोटर कम्पनी ‘फक्सवागन’ले सन् २०३० सम्म जर्मनीमा करिब ५० हजार रोजगारी कटौती गर्ने योजना बनाएको घोषणा गरेको छ । 

फक्सवागनका प्रमुखले भने, ‘सन् २०३० सम्म जर्मनीमा भोल्क्सवैगन समूहभित्र कुल करिब ५० हजार रोजगारी कटौती हुनेछन् । यसअघि सन् २०२४ को अन्त्यमा ३५ हजार रोजगारी घटाउने सहमति भइसकेको थियो । अबको कटौती उच्च स्तरका ब्राण्ड र सफ्टवेयर कम्पनीमा हुनेछ ।’ 

कम्पनीले यस निर्णयलाई चीनमा कडा प्रतिस्पर्धा, युरोपमा स्थिर माग र विद्युतीय सवारी साधनमा उच्च लगानी लागत जस्ता चुनौतीहरूको सामना गर्दै उठाइएको बताएको छ । फक्सवागन लामो समयदेखि चीनको बजारमा अग्रणी रहँदै आएको भए पनि स्थानीय प्रतिस्पर्धीहरूले कम्पनीको बिक्रीमा दबाब पारेका छन् ।

प्रमुखले पत्रकार सम्मेलनमा थपे, ‘स्थानीय कम्पनीहरूले युरोपियन बजारमा प्रवेश गरेर मूल्य प्रतिस्पर्धा बढाउने प्रयास गरिरहेका छन् । यसले हामीमाथि दबाब बढाउनेछ। हामीले लागत घटाउने उपायमा अझ गहन प्रयास गर्न आवश्यक छ ।'

विशेषज्ञहरूले फक्सवागनको यो कदमलाई सस्तो र स्थिर उत्पादन लागत कायम राख्दै कम्पनीको दिगो सञ्चालन सुनिश्चित गर्ने रणनीतिको रूपमा विश्लेषण गरेका छन् ।

यो निर्णयले कर्मचारी, सङ्घसंस्था र बजारमा ठूलो असर पार्ने अपेक्षा गरिएको छ । कम्पनीले यस कटौतीबाट वर्षेनी ठूलो आर्थिक बचत हुने योजना बनाएको छ ।

Share News