रास्वपालाई दुई तिहाई पुग्न २ सिट कम, ६ दल बने राष्ट्रिय पार्टी

सबैभन्दा ठूलो दल बन्यो रास्वपा, स्थापना भएको छोटो समयमै श्रम संस्कृति राष्ट्रिय पार्टी

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ को समानुपातिकतर्फको मतगणना लगभग सम्पन्न भएको छ । निर्वाचन आयोगका सहप्रवक्ता कुलबहादुर जिसीका अनुसार प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीको सबै मतगणना सकिएको हो । अब दलहरूले प्राप्त गरेको सदर मतका आधारमा सिट बाँडफाँटको प्रक्रिया अघि बढ्ने आयोगले जनाएको छ ।

सहप्रवक्ता जिसीका अनुसार गोरखा र इलामका दुई निर्वाचन क्षेत्रको मतगणना सकिए पनि केन्द्रीय प्रणालीमा प्रविष्ट भएको छैन ।

हालसम्म प्राप्त विवरणअनुसार प्रत्यक्षतर्फ १२५ सिट जितेर सबैभन्दा ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ पनि उल्लेख्य मत पाएको छ ।  रास्वपाले ५१ लाख ३९ हजार २३५ मत प्राप्त गरेको छ, जसका आधारमा उसले समानुपातिकबाट करिब ५७ सिट पाउने निश्चित देखिएको छ । रास्वपालाई दुई तिहाई पुग्न २ सिट कम हुने देखिएको छ । 

त्यसैगरी, प्रत्यक्षतर्फ १८ सिट जितेको नेपाली कांग्रेसले समानुपातिकमा १७ लाख ४९ हजार ५८३ मत प्राप्त गरेको छ । यस मतका आधारमा कांग्रेसले समानुपातिकबाट करिब २० सिट थप्ने अनुमान गरिएको छ ।

प्रत्यक्षतर्फ ९ सिट जितेर तेस्रो भएको नेकपा एमालेले समानुपातिकमा १४ लाख ५१ हजार ७५९ मत पाएर समग्रमा पनि तेस्रो शक्ति बन्न सफल भएको छ । प्राप्त मतका आधारमा एमालेले समानुपातिकबाट थप १६ सिट पाउने निश्चितजस्तै देखिएको छ ।

त्यस्तै, प्रत्यक्षतर्फ ७ सिट जितेको नेपार्ली कम्युनिस्ट पार्टी (नेकपा) ले समानुपातिकमा ८ लाख ९ हजार ७१ मत प्राप्त गरेको छ । यस आधारमा उक्त पार्टीले समानुपातिकबाट करिब ९ सिट पाउने सम्भावना रहेको छ ।

चार महिनाअघि मात्र गठन भएको श्रम संस्कृति पार्टीले पनि उल्लेख्य मत ल्याएको छ । प्रत्यक्षतर्फ ३ सिट जितेको यस दलले समानुपातिकमा ३ लाख ५ हजार ६२ मत प्राप्त गरेको छ । जसका आधारमा उसले थप ४ सिट पाउने देखिएको छ ।

यस्तै, प्रत्यक्षतर्फ १ सिट जितेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिकतर्फ ३ लाख ३० हजार ८२ मत पाएको छ । यस मतका आधारमा राप्रपाले पनि करिब ४ सिट समानुपातिकबाट प्राप्त गर्ने सम्भावना छ ।

सहप्रवक्ता जिसीका अनुसार प्रत्यक्षतर्फ १ करोड ९ लाख ७७ हजार ७११ मत खसेको थियो । समानुपातिकतर्फ भने १ करोड १० लाख मत खसेको अनुमान गरिए पनि सबै मतगणना केन्द्रीय प्रणालीमा प्रविष्ट भएको छैन । अहिलेसम्म १ करोड ७ लाख ८१ हजार ७१४ मत प्रणालीमा प्रविष्ट भएको छ ।

Share News