दिगो बैंकिङ प्रवर्द्धनका लागि महालक्ष्मी विकास बैंकको फेवाताल किनारमा पदयात्रा

काठमाडौं । महालक्ष्मी विकास बैंकले दिगो बैंकिङ प्रवर्द्धन तथा वातावरण संरक्षणप्रति प्रतिबद्धता जनाउँदै पोखराको फेवाताल किनारमा दुईदिने कार्यशाला तथा सामूहिक पदयात्रा कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रम बैंकका विभागीय प्रमुख, प्रदेश प्रमुख, शाखा प्रबन्धक तथा कर्मचारीहरूको उत्साहजनक सहभागितामा सम्पन्न भएको हो ।

बैंकले वार्षिक कार्यक्रमअन्तर्गत फागुन २४ र २५ गते आयोजना गरेको उक्त कार्यक्रममा वातावरण, संस्कृति तथा सम्पदा संरक्षणसँगै दिगो वित्तीय अभ्यासलाई प्रोत्साहन गर्ने उद्देश्य राखेको थियो ।

दुईदिने कार्यशालामा आर्थिक वर्ष २०८२/८३ को हालसम्मको बैंकको समग्र वित्तीय अवस्था समीक्षा गर्नुका साथै हालै सम्पन्न निर्वाचनपछिको सकारात्मक आर्थिक वातावरण र अन्तर्राष्ट्रिय परिस्थितिबाट उत्पन्न हुन सक्ने सम्भावित आर्थिक चुनौतीबारे समेत विश्लेषण गरिएको बैंकले जनाएको छ ।

दिगो वित्तीय अभ्यासको सन्देश आम नागरिकसम्म पुर्याउने उद्देश्यले ऐतिहासिक तथा पर्यावरणीय दृष्टिले महत्त्वपूर्ण फेवाताल क्षेत्र वरिपरि सामूहिक पदयात्रा आयोजना गरिएको थियो । कार्यक्रममा हरित बैंकिङ तथा दिगो वित्तीय रणनीतिको आवश्यकतामाथि विशेष जोड दिइएको थियो ।

'सबल बैंक, सफल सहकार्य' भन्ने नारालाई आत्मसात गर्दै महालक्ष्मी विकास बैंकले विगत ३१ वर्षदेखि देशभर गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको छ । हाल बैंकका देशभर १०३ शाखा कार्यालय सञ्चालनमा रहेका छन् भने करिब ८ लाख ५० हजारभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ ।  

Share News