काठमाडौं । अब पेट्रोल स्कुटरझैं इलेक्ट्रिक स्कुटर किन्न पनि नागरिकता कै भरमा फाइनान्स सुविधा पाइने भएको छ । लुयान नेपालले ग्राहकलाई सहज बनाउन यस्तो विशेष फाइनान्स योजना सार्वजनिक गरेको हो ।
विशेषगरी राजधानी क्षेत्रमा बसोबास गर्ने ग्राहकलाई लक्षित गरी ल्याइएको यस योजनाअनुसार अब ग्राहकले आफ्नो र एकजना ग्यारेन्टरको नागरिकताको आधारमा सहज रूपमा फाइनान्स सुविधा लिन सक्नेछन् ।
सामान्यतया फाइनान्स प्रक्रियामा प्रशस्त आम्दानी खुल्ने कागजात, राजधानीकै स्थानीय ग्यारेन्टर, बिजुली वा खानेपानीको बिल, सरकारी जागिर वा ठूलो कम्पनीमा काम गरेको प्रमाण जस्ता झन्झटिला कागजात आवश्यक पर्ने गरिन्छ । तर लुयान नेपालको यो नयाँ व्यवस्थामा त्यस्ता जटिल प्रक्रियाबाट ग्राहकलाई धेरै हदसम्म सहज बनाइएको छ ।
नेपालको जुनसुकै जिल्लाको स्थायी बासिन्दा भए पनि हाल राजधानीमा बसेर औपचारिक वा अनौपचारिक पेशा–व्यवसाय गरिरहेका व्यक्ति, साना व्यवसायी तथा राइड सेयरिङ्गमा संलग्न युवाहरूले पनि यो सुविधाबाट लाभ लिन सक्नेछन् ।
यस योजनाअनुसार स्कुटरको कुल मूल्यको अधिकतम ५० प्रतिशतसम्म फाइनान्स सुविधा उपलब्ध हुनेछ भने बाँकी रकम १८ महिनासम्मको सरल किस्तामा तिर्न मिल्ने व्यवस्था गरिएको कम्पनीका सेल्स हेड शंकर शर्माले जानकारी दिए ।
यो सुविधाले विशेषगरी राजधानीमा बसेर राइड सेयरिङ्ग व्यवसायमा सक्रिय युवाहरूलाई थप सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ । हाल यो सेवा काठमाडौंमा उपलब्ध भए पनि निकट भविष्यमा पोखरा र इटहरीमा समेत विस्तार गर्ने कम्पनीको योजना रहेको छ ।
लुयान नेपालले विगत सात वर्षदेखि नेपालमा विभिन्न ब्राण्डका इलेक्ट्रिक स्कुटर आयात तथा बिक्री वितरण गर्दै आइरहेको छ । कम्पनीले यो फाइनान्स सुविधा लुयान, सारथी, इकुटर, जिडाओ तथा काइसाई ब्राण्डका स्कुटरमा उपलब्ध गराउने जनाएको छ ।
कम्पनीले हाल करिब १ लाख ४० हजारदेखि साढे २ लाख रुपैयाँसम्मका विभिन्न इलेक्ट्रिक स्कुटर बजारमा उपलब्ध गराउँदै आएको छ । साथै, कम्पनीले करिब १ लाख १० हजार रुपैयाँमै लाइसेन्स आवश्यक नपर्ने इलेक्ट्रिक स्कुटर पनि बिक्री गर्दै आएको छ ।