एमाले र कांग्रेसका मत रास्वपामा सिफ्ट, कुन दलले कति मतदाता गुमायो ?

रास्वपालाई ३५६ प्रतिशत फाइदा, एमालेलाई ४९ प्रतिशत घाटा

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत समानुपातिक तर्फको मतगणना सकिँदा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सबैभन्दा ठूलो दलका रूपमा उदाएको छ । निर्वाचन आयोगका प्रवक्ता कुल बहादुर जिसीका अनुसार समानुपातिक प्रणालीतर्फ कुल १ करोड ७ लाख ८९ हजार ७८ मत गणना हुँदा रास्वपाले सबैभन्दा बढी मत प्राप्त गरेको हो ।

प्राप्त अन्तिम परिणामअनुसार रास्वपाले ५१ लाख ५८ हजार ८१० मत प्राप्त गरेको छ, जुन कुल मतको करिब ४७.८१ प्रतिशत हो । समानुपातिक मत परिणामले यस पटक नयाँ शक्तिको उदय र परम्परागत दलहरूको उपस्थिति कमजोर भएको स्पष्ट देखाएको छ ।

मुख्य प्रतिस्पर्धी दलहरूमध्ये नेपाली कांग्रेसले १७ लाख ५६ हजार ४३ मत प्राप्त गरेको छ । जुन १६.२७ प्रतिशत हो । नेकपा एमालेले १४ लाख ५२ हजार ९३९ मत सहित १३.४६ प्रतिशत मत पाएको छ । त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीले ८ लाख ९ हजार ६४१ अर्थात् कुल मतको ७.५० प्रतिशत मत प्राप्त गरेको छ ।

केही महिनाअघि मात्रै स्थापना भएको श्रम संस्कृति पार्टीले ३ लाख ८५ हजार ७४८ मत पाउँदै राष्ट्रिय पार्टी बन्न सफल भएको छ । यस पार्टीले कुल मतको ३.५७ र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले ३ लाख ३० हजार २८१ अर्थात् ३.०६ प्रतिशत मत प्राप्त गरेको हो । अन्य साना दलहरूले भने ३ प्रतिशतभन्दा कम मत पाएका कारण समानुपातिक सिट पाउने छैनन् ।

२०७९ को तुलनामा ठूलो मत परिवर्तन

यसपटकको परिणामलाई अघिल्लो २०७९ को आम निर्वाचनसँग तुलना गर्दा राजनीतिक शक्तिको सन्तुलनमा ठूलो परिवर्तन देखिएको छ । गत निर्वाचनको परिणामको तुलना गर्दा नेकपा एमालले धेरै गुमाएको छ भने रास्वपाले धेरै प्राप्त गरेको छ ।

२०७९ मा समानुपातिकतर्फ ११ लाख ३० हजार ३४४ मत पाएको रास्वपाले यस पटक ५१ लाख ५८ हजार ८१० मत प्राप्त गरेको छ । यसअनुसार रास्वपाको मत ४० लाखभन्दा बढीले बढ्दै करिब ३५६.३९ प्रतिशत वृद्धि भएको छ ।

यसको विपरीत प्रमुख परम्परागत दलहरूको मतमा उल्लेख्य गिरावट देखिएको छ । २०७९ मा २७ लाख १५ हजार २२५ मत पाएको नेपाली कांग्रेसले यसपटक १७ लाख ५६ हजार ४३ मत मात्रै प्राप्त गरेको छ । कांगे्रसको मतमा ३५.३२ प्रतिशत गिरावट आएको छ ।

त्यस्तै २०७९ मा सबैभन्दा धेरै मत ल्याएको नेकपा एमाले को मत पनि यसपटक उल्लेखनीय रूपमा घटेको छ । एमालेले अघिल्लो निर्वाचनमा २८ लाख ४५ हजार ६४१ मत पाएकोमा अहिले १४ लाख ५२ हजार ९३९ मत मात्र प्राप्त गरेको छ । जुन करिब ४८.९४ प्रतिशतले कमी हो ।

यस पटक नेकपाको मत पनि घटेको छ । २०७९ मा ११ लाख ७५ हजार ६८४ मत पाएको तत्कालीन माओवादीले यस पटक ८ लाख ९ हजार ६४१ मत प्राप्त गरेको छ । नेकपालाई यस पटक ३१.१३ प्रतिशत कम मत प्राप्त भएको छ । उसो त नेकपा  आधा र्दजन बी पार्टी मर्जर भएर बने पनि नतिजा भने सन्तोषजनक देखिँदैन । 

त्यस्तै निर्वाचनमा राप्रपाको मत पनि अघिल्लो निर्वाचनको तुलनामा ४४ प्रतिशतले घटेको देखिएको छ । राप्रपाले २०२९ को चुनावमा साढे ५ लाख मत पाएको थियो । 

नयाँ शक्ति उदाएको संकेत

समानुपातिक मत परिणामले नेपालको राजनीतिक परिदृश्यमा ठूलो परिवर्तनको संकेत दिएको विश्लेषकहरूको भनाइ छ । विशेषगरी रास्वपाको तीव्र मत वृद्धि र परम्परागत दलहरूको मत घट्नुले मतदातामा नयाँ विकल्प खोज्ने प्रवृत्ति बढेको देखिएको छ ।

राजनीतिक विश्लेषक तथा सर्वोच्च अदालतका पुर्व रजिष्ट्रार श्रीप्रसाद पण्डितका अनुसार यस पटकको निर्वाचन परिणामले आगामी संसदमा शक्ति सन्तुलन मात्र होइन, दलहरूको आन्तरिक संरचना र नेतृत्वमा समेत व्यापक बहस सिर्जना गर्ने संकेत दिएको छ ।

Share News