‘विदेशी औषधीको मूल्य बढिरहँदा नेपाली औषधीको मूल्य १८ वर्षदेखि यथावत छ’ {अन्तर्वार्ता}

झन्डै ५० वर्ष पुरानो नेपालको औषधी ऐन उद्योगलाई प्रवर्द्धन गर्ने खालको छैन ।

करिब २६ वर्षदेखि नेपालमा औषधी उत्पादन गर्दै आएको क्वेस्ट फर्मास्युटिकल्सले अहिले नेपालमा करिब दुई सय प्रकारका औषधी उत्पादन गर्दै आइरहेको छ । औषधी क्षेत्रमा मेडिकल रिप्रेजेन्टेटिभको रूपमा करिब पाँच दशक काम गरेको अनुभव भएका उमेशलाल श्रेष्ठले स्थापना गरेको क्वेस्टले ७ सय जनालाई रोजगारी दिएको छ । नेपालमा औषधी उद्योग सञ्चालन गरेर काम गर्दा कस्ता व्यवधानको सामना गर्नुपर्छ लगायतका विषयमा क्वेस्ट फर्मास्युटिकल्सका अध्यक्ष उमेशलालसँग विकासन्युजकी इन्द्रसरा खड्काले गरेको कुराकानीको सम्पादित अंश । 

यो क्षेत्रमा प्रवेश गर्दा र अहिले औषधी उद्योग सञ्चालन गरी आफै नेतृत्व गर्दा कति फरक हुँदो रहेछ ?

म यो क्षेत्रमा एउटा कामदारको हिसाबले छिरेको थिएँ  । संसारको सबभन्दा ठुलो औषधी कम्पनीको मार्केटिङ प्रमोसनमा थिएँ । त्यहाँ काम गर्दैगर्दा अब विदेशीको लागि धेरै काम नगरी नेपालमा गर्नुपर्छ भन्ने मेरो मनमा लाग्यो र मैले आफ्नै कम्पनी स्थापना गरेको हुँ । नजिकका तीन जना साथीहरूसँग मिलेर क्वेस्ट फर्मास्युटिकल्स सञ्चालनमा ल्याएको हौं । यो कम्पनी खोलेको करिब २६ वर्ष भयो । मिहिनेत र सबैको सहयोगले हाल हामी नेपालको नम्बर वान औषधी कम्पनीका रूपमा काम गरिरहेका छौं । आफ्नो काम गर्दा जति आनन्द आउँछ, त्यो आनन्द अरूको काम गर्दा आउँदैन । मेरो आमा सहाना प्रधान विश्वविद्यालयको प्रोफेसर हुनुहुन्थ्यो, उहाँलाई जागिरबाट निकालिएको थियो । त्यसपछि हातमुख जोर्न समस्या भयो । आयआर्जनको लागि पनि मैले काम गर्नुपर्यो । जतिबेला म १८/१९ वर्षको थिएँ । काम गर्दै जाँदा अहिले जुन स्थितिमा हाम्रो कम्पनी छ र जुन स्थानमा म छु, मलाई अत्यन्त आनन्द आउँछ ।

काम गर्दै जाँदा अवसर पनि हुन्छ, चुनौतीहरू पनि हुन्छन्, तपाईंले के–कस्ता चुनौती खेप्नुपर्यो ?

आफ्नै काम गर्दा अवसर त जति पनि हुन्छ, तर आफूले गर्न भने सक्नुपर्छ । तर कर्तव्य भने थुप्रै हुन्छ । चुनौतीलाई मैले कर्तव्य मान्छु । क्वेस्ट फार्मासुटिकल्सका मेरा तीन जना मित्रले पनि कम्पनीलाई दिलोज्यान दिनुभएको छ । हामीले एक–अर्काको भरोसामा विभिन्न चुनौतीको अवसर पार गर्दै यहाँसम्म आएका हौं ।

null

उमेशलाल श्रेष्ठ ।

कम्पनीले कति जनालाई रोजगारी दिएको छ ?

क्वेस्टले प्रत्यक्ष रूपमा करिब ७ सय जनालाई रोजगारी दिइरहेको छ । 

क्वेस्टले कति प्रकारका औषधीहरू उत्पादन गरिरहेको छ ?

हामीले झन्डै २ सय किसिमका औषधी उत्पादन गरिरहेका छौं । यसमध्ये २५ प्रकारका औषधी  मधुमेह र मुटुसम्बन्धी रोगका रहेका छन् । हामीले क्षमताअनुसारको औषधी उत्पादन गरिरहेका छौं ।  

क्वेस्टले उत्पादन गरिरहेको औषधी नेपाली बजारमा बिक्री वितरण अथवा बजारमा खपत कत्तिको भइरहेको छ ?

हामीले उत्पादन गरिरहेका सबै औषधी नेपाली बजारमा गइरहेको छ । तर सरकारका नीति नियमले औषधी उद्योगलाई गाह्रो बनाएको छ । यो उद्योगमा धेरै प्रतिस्पर्धा छ ।  यसमा म सबैभन्दा दोषी सरकार देख्छु । अब हेरौं नयाँ सरकारले कस्तो गर्छ । नेपालको औषधी ऐन आजभन्दा झन्डै ५० वर्ष पुरानो छ । त्यो ऐन औषधी उद्योगलाई प्रवर्द्धन गर्ने खालको छैन । नेपाललाई जहिले पनि विदेशबाट औषधी आयात गरेर बचाइ राख्ने खालको ऐन हो । हुन त त्यो बेला नेपालमा औषधी उद्योग पनि थिएनन् । यो ऐन परिवर्तन नगरेसम्म, नेपाली उद्योगलाई विशेष महत्त्वका साथ अगाडि नबढाएसम्म नेपाली औषधी उद्योगको हालत यही रहिरहने छ ।

तपाईंहरूले उत्पादन गरिरहेका औषधी बाहिरबाट पनि आयात भइरहेका छन् ?

सबै बाहिरबाटै आएका छन् । औषधीको बजारमा हाम्रो सेयर जम्मा ५० प्रतिशतमात्र छ । ५० प्रतिशत त अहिले पनि विदेशबाटै आइरहेको छ । हाम्रो मुख्य प्रतिस्पर्धी नै विदेशबाट आएको कम्पनी र त्यसमा पनि भारतीय कम्पनीहरू हुन् ।

औषधी सम्बन्धी ऐन, विदेशबाट आयातित औषधीले विशेषगरी तपाईंहरूलाई बाधा गरिरहेको रहेछ, यो सम्बन्धमा सरकारसँग कुरा गर्नु भएन ?

पैसा नखाइकन कुन चाहिँ उद्योगको कुरा सरकारले सुन्छ ? यस्ता कुरा सरकारले सुन्दै सुन्दैन । त्यसैको परिणाम अहिलेको चुनावी नतिजा हुन सक्छ ।  नेपाल विकासोन्मुख देशबाट अब विकसित देशमा प्रवेश गर्दैछ । कारण नेताहरूको अप्रष्ट बुझाइ हो । बुझ्दै नबुझ्ने खालका नेताहरूले आफूले देशलाई यस्तो अवस्थाबाट यस्तो अवस्थामा पुर्यायौं भन्नको लागि मात्र हो । खास देश त्यस्तो अवस्थामा पुगेकै छैन ।  

तपाईंहरूले उत्पादन गरेका औषधी बाहिरबाट पनि उत्तिकै आइरहेका छन्, यसले तपाईंहरूलाई कस्तो अप्ठ्यारो पर्छ ?

मलाई यसमा कुनै आपत्ति छैन । स्वदेशको मात्र होइन, विदेशका औषधी उद्योगसँग पनि हाम्रो प्रतिस्पर्धा हो । प्रतिस्पर्धा नभएसम्म हामीले हामीमा निखार ल्याउन सक्दैनौं  । त्यसैले विदेशी, स्वदेशी प्रतिस्पर्धा  हामीलाई चाहिन्छ । उनीहरूलाई हेरेर हामी अगाडि बढ्ने हो । नेपाल सरकारको नीति यस्तो खालको छ कि मेरै देशमा म दोस्रो दर्जाको नागरिक भएर बस्नुपर्छ । यस्तो खालको व्यवस्था, तौरतरिका जहिलेसम्म रहन्छ, तबसम्म केही हुँदैन।

नीतिमा के-कस्ता समस्या छन् ?

विभिन्न समस्यामध्ये एक मूल्यको हो ।  हिजो एउटा वस्तु किन्दा १ हजार ३ सय रुपैयाँ तिर्नुपर्यो । सोही वस्तु तीन महिना अगाडि किन्दा १ हजार १ सयमा किनेको थिएँ । यो सामान्य हो कि असामान्य हो मलाई थाहा छैन । तर १८ वर्षदेखि हाम्रो औषधीको मूल्य जत्तिको त्यत्ति नै छ । १६ वर्षअगाडि फ्रिज फ्रोजन पाँच रुपैयाँमा बेचेको थिएँ, त्यसको मूल्य अहिले पनि पाँच रुपैयाँ नै छ । तर आयातित कम्पनीलाई यस्तो  रोक छैन । उनीहरूको २१ रुपैयाँ पुगिसक्यो । समस्या भनेको यस्तै हो । 

सरकारले नेपाली कम्पनीहरूलाई प्रोत्साहन गर्नुको सट्टा झन् दुरुत्साहन गरिरहेको जस्तो लाग्छ ?

सरकारले त हामीलाई त झन् दबाउने काम गरिरहेको छ । ब्युरोक्रेट्सहरूले हामीलाई दबाउने अनि नेताहरू बुझ्दै नबुझ्ने । नेपाली कम्पनीलाई प्रोत्साहन गर्नुको सट्टा हरेक तरिकाबाट हामीलाई रोक्ने प्रयास भइरहेको छ । बाहिरका कम्पनीलाई नेपालमा जे गर्दा पनि छुट दिने तर हामीलाई कुनै पनि लाभ छैन । यस्तो खालको प्रवृत्ति छ । 
सरकारले के गरिदिए तपाईंहरूलाई काम गर्न सहज हुन्छ ?

अरू केही गर्न पर्दैन, बस् हामीलाई र विदेशीलाई बराबरको कानुन हुनुपर्छ । एउटा फुटबल खेलमा दुई टिमलाई फरकफरक नियम हुनुभएन । एउटै नियम बने पुग्छ । हामी कुनै पनि प्रतिस्पर्धालाई आफ्नो स्तरमा राख्न सक्छौं । नेपाली उद्योगले त्यति विकास त गरेको छ नि । हामी २०/२५ वटा कम्पनीहरू छौं, हामी मिलेर अगाडि जाने हो भने एक किसिमको विदेशी अतिक्रमणलाई खत्तम गर्न नसके पनि न्यूनीकरण भने गर्न सक्छौं ।

औषधी उद्योग सञ्चालन गर्दा, नयाँ औषधी उत्पादन गर्न खोज्दा वा करका हिसाबले कत्तिको झन्जटिलो छ ?

करमा पनि केही असमानता छ तर, म करको समस्या ठूलो मान्दिनँ । मैले भारतमा जानु पर्यो भने अनुमति पाउनै गाहो छ । भारत मात्र होइन, बंगलादेश जान पनि उत्तिकै गाह्रो छ ।  मेरो कम्पनी त्यहाँ दर्ता गर्न ५० हजार डलर लाग्छ भने एउटा प्रोडक्ट दर्ता गर्न तीन वर्षको १ हजार ५०० डलर लाग्छ । यो तुलना नेपालसँग गर्ने हो भने नेपालले भारतीय र अरू विदेशी कम्पनी दर्ता गर्न जम्मा १५ हजार रुपैयाँ लिन्छ । तपाईं आफै भन्नुहोस् रुपैयाँ र ५० हजार डलरमा कति फरक पर्छ ? नेपालमा करिब चार सय वटा कम्पनीहरू  सक्रिय छन् भने देशको राजश्व कति बढ्थ्यो होला ? त्यो विषयमा सरकारले कहिल्यै ख्याल गरेन । यस्ता यावत समस्याले हामी भारतजस्तो विशाल देशको विशाल बजारमा छिर्नै पाएका छैनौं । 

nullतपाईंहरूले उत्पादन गरेका औषधीको निर्यात अवस्था कस्तो छ ?

कतिपय साथीहरूले औषधीहरू निर्यात गरिरहनुभएको छ । हामी पनि अब केही औषधी निर्यात गर्ने तयारीमा छौं । तर निर्यात भन्नलाई जति सजिलो छ त्यतिकै असहज पनि छ । हामी विगत तीन वर्षदेखि पाँचवटा देशमा निर्यात गर्ने तयारीमा थियौं तर सकिरहेका छैनौं । 

अनि यस्तो अवस्थामा कसरी काम गर्न सक्नुभएको छ ?

धेरै कुरा सहनुपर्छ, भोग्नुपर्छ । लगानी गरिसकेपछि प्रतिफल पनि हेर्नैपर्यो । अरू कम्पनीका साथीहरूले पनि थुप्रै मिहिनेत गर्नु भएको छ, हामीले पनि गरिरहेका छौं ।  सरकारले कहिलेकाहीँ भन्छ– हामीले गरेर यस्तो भयो तर तर सरकारले गर्दा अप्ठ्यारो मात्र भएको छ । नेपाल सरकारको कानुन बाङ्गो नभएर सोझो भइदिएको भए अहिले हामी सायद ८० प्रतिशतको हाराहारीमा हुन्थ्यौं । विदेशी औषधीहरू बिक्री नै नहुनुपर्ने अवस्था आउनुपर्थ्यो ।

अब नयाँ सरकार आउँदै छ, अबको सरकारबाट के अपेक्षा गर्नुभएको छ ?

कस्तो सरकार बन्छ, त्यसपछि मात्र अपेक्षा गर्न सकिन्छ । राम्रा मान्छे, राम्रो गर्छन् भनेर भोट दिइयो । हिजोका व्यक्तिलाई पनि राम्रै भनेर ४८ सालदेखि लगातार भोट दिएका थियौं । सबै बेकामे निस्किए  । अब सबभन्दा पहिला सरकार बन्न दिऊँ, सरकार बनिसकेपछि हाम्रो छलफल हुन्छ । अब बन्ने सरकारलाई लिएर हामी निकै आशावादी छौं । 

विदेशबाट कच्चा पदार्थ ल्याएर नेपालमा काम गर्दा कस्तो अप्ठ्यारो हुन्छ ?

औषधी उद्योग चल्ने भनेकै कच्चा पदार्थले हो । हामीसँग अल्कोहलबाहेक अरू कच्चा पदार्थ छैन । हामी विशेषगरी चीन र भारतबाट कच्चा पदार्थ आयात गर्छौं । यसरी आयात गर्दा मुख्य समस्या कसैगरी त्यो कच्चा पदार्थ फेल हुन्छ कि भन्ने हो । भारत र चीनमा धेरै राम्रो कच्चा पदार्थ बन्छ हामीलाई खासै समस्या हुँदैन ।

कच्चा पदार्थ नेपालमै उत्पादन गर्न सकिँदैन ?

हामीले गर्न सक्छौं । जस्तो पारासिटामोल, एम्पिसिलिन जस्ता एमोक्सिलिन बनाउन सक्छौं । तर नेपाल सरकारले हामीलाई निर्यात गर्न सहयोग गर्नुपर्यो । बंगलादेश एकदम विशाल बजार हो, उसले ६/७ वटा कच्चा पदार्थ बनाउँछ । बंगलादेशी सरकारले कच्चा पदार्थ विदेशबाट आयात गर्न रोक लगाएको छ । जति महँगो भएपनि बांगलादेशकै लिनुपर्ने प्रावधान छ । हाम्रो सरकारले यस्तो गर्दैन । यदि नेपाल सरकारले पनि यस्तै नियम बनाइदिने हो भने नेपालले पनि ६/७ वटा कच्चा पदार्थ बनाउ सक्छ । 

औषधी उद्योगहरू सञ्चालन गर्न प्रविधि तथा जनशक्तिको उपलब्धता नेपालमा कत्तिको छ ? 

हामीसँग जनशक्ति पर्याप्त छ । प्रविधि प्रायः किन्नु पर्छ । २०/२२ वर्ष अगाडि जनशक्तिकै अभाव हुन्थ्यो, अहिले अभाव छैन । यद्यपि उच्चतम खालको जनशक्तिमा भने अलिक अभाव नै छ । 

null

औषधी दर्ता, लाइसेन्स र नियामक प्रक्रियामा चाहिँ कति सहज छ ?

मैले लाइसेन्स अप्लाई गरें भने मैले कहिले पाउँछु स्वयं मलाई नै थाहा हुँदैन । किन रोकियो भन्ने पनि थाहा हुँदैन । मैले चार वर्ष अगाडि दिएको लाइसेन्स जस्ताको तस्तै राखेर हिजो भर्खर अप्लाई गर्नेलाई लाइसेन्स दिने चलन छ । किन त्यस्तो गर्छन् मलाई थाहा छैन । त्यसका बाबजुद पनि हाम्रो कम्पनी नेपालको नम्बर वान कम्पनी छ, यो खुसीको कुरा हो । 

तपाईंहरूको नियामक निकाय औषधी व्यवस्था विभागबाट केकस्ता चुनौतीहरू सामना गर्नु परेको छ ?
समस्या त्यहीँबाट छ । मनपरितन्त्र, अपारदर्शिता छ । एउटै कुरा मैले अघि भनें १८ वर्ष भइसक्दा औषधीको मूल्य बढाउन सकेको छैन । १८ वर्षमा तपाईंको तलब कति बढ्यो, मेरो तलब कति बढ्यो, डलरको मूल्य कति बढ्यो ? । योभन्दा बेसी उदाहरण चाहिन्छ ? विदेशबाट आयात भएका औषधीको मूल्य आरामसँग बढिरहेको छ । हामीले केही गरी गल्तीले मूल्य बढाइहाल्यौं भने अर्को वर्ष नवीकरणमै रोक लागाइदिन्छ । विदेशी  कम्पनीलाई त्यो गर्ने इच्छा नभएको हो कि तागत नभएको हो, मलाई थाहा भएन ।

सरकारीस्तरबाट सहयोग प्राप्त गरेको भए नेपाली औषधी उद्योग विश्वस्तरीय औषधी कम्पनीसँग प्रतिस्पर्धा गर्न सक्थ्यो जस्तो लाग्छ ?

प्रतिस्पर्धा त हामी अहिले पनि गर्न सक्छौं, गरिरहेकै छौं । नेपाली औषधीको स्तरीयतामा प्रश्नचिन्ह अहिले छैन । छुटपुट गल्ती त सबै ठाउँमा हुन्छ । भारत, बंगलादेश इभन अमेरिकामा पनि हुन्छ । अझै पनि धेरैजना नेपाली औषधी भन्दा नाक खुम्चाउँछन् । औषधी विभिन्न अन्तर्राष्ट्रिय मापदण्डअनुसार बन्छ । 

बुवा नेपालको कम्युनिस्ट नेता, आमा महिलावादी नेतृ, यस्तो परिवारमा तपाईं जन्मिनुभयो तर राजनीति छाडेर व्यवसायमा किन लाग्नुभयो ?

मलाई राजनीतिप्रति कहिल्यै रुचि भएन । राजनीति गर्छु भन्ने सोच्न पनि सोचिनँ । बुवा म सानो छँदै बित्नुभयो । मेरो आमाले राजनीतिमा करिब ४ दशक बिताउनु भयो । मलाई पनि ‘तँ पनि राजनीतिमा लाग्’ भनेर थुप्रैले सल्लाह दिए । तर, मेरो आमाले एउटा परिवारको एउटा मान्छे राजनीतिमा लागे पुग्छ भन्नुभयो । त्यसपछि झन् त्यतापट्टि रुचि नै राखिनँ । 

क्वेस्टले आगामी दिनमा कसरी अगाडि बढ्ने योजना बनाएको छ ? 

हामीले करिब करिब डेढ सय करोडको लगानीमा रिसर्च एण्ड डेभलपमेन्ट सेन्टर खोल्दै छौं । अरू नयाँ औषधीहरू पनि बजारमा ल्याउने योजना छ । 

अन्त्यमा केही भन्न चाहनुहुन्छ कि ?

ऐन कानुनलाई ठीक गर्नूहोस् । ऐन कानुनमा स्वदेशी कम्पनीहरूलाई बढ्ने खालको वातावरण बनाइदिनूहोस् । म सरकारसँग छुट माग्दिनँ, छुट माग्ने काम मेरो हैन । 

Share News