७ महिनामा भित्रियो साढे १२ खर्ब रुपैयाँ रेमिट्यास​​​​​​​, माघमा मात्र २ खर्ब

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा विप्रेषण आप्रवाह ३९.८ प्रतिशतले वृद्धि भई १२ खर्ब ६१ अर्ब १ करोड रुपैयाँ पुगेको छ ।

केन्द्रीय बैंकले सार्वजनिक गरेको चालु आव २०८२/८३ को ७ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार विप्रेषण आप्रवाह उल्लेख्य रूपमा बढेको देखिएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७ प्रतिशतले बढेको थियो ।

गत माघ महिनामा मात्र १ खर्ब ९८ अर्ब ८ करोड रुपैयाँ बराबर विप्रेषण भित्रिएको प्रतिवेदनमा उल्लेख छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १ खर्ब ३७ अर्ब ५० करोड रुपैयाँ रहेको थियो ।

गत माघ मसान्तसम्ममा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३३ प्रतिशतले वृद्धि भई ८ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । 

यो अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १३ खर्ब ८४ अर्ब २७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ९ खर्ब ८६ अर्ब ३४ करोड रुपैयाँ रहेको थियो ।

त्यस्तै, यो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको सङ्ख्या २ लाख ४५ हजार १५३ र पुन:श्रम स्वीकृति लिनेको सङ्ख्या २ लाख २७ हजार ४२४ रहेको राष्ट्र बैंकले जनाएको छ 

Share News