मकवानपुरमा प्रहरीले आत्मरक्षाका गोली चलायो, लागूऔषधसहित १३ जना पक्राउ

काठमाडौं । मकवानपुरको मनहरी गाउँपालिका-१ मकरीमा लागूऔषध सेवनकर्ताले आक्रमण गर्दा एक जना प्रहरी सहायक निरीक्षक र आक्रमणकारी मध्येका एक जना घाइते भएका छन् ।

प्रहरीचौकी पदम पोखरीबाट खटिएको प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि लागूऔषध सेवनकर्ताले  गएराति बञ्चरो प्रहार गर्दा प्रहरी सहायक निरीक्षक तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । 

प्रहरीले आत्मरक्षाका लागि एक राउन्ड गोली चलाउँदा हेटौंडा उप-महागरपालिका-१२ हात्तीगौँडा निवासी १९ वर्षीय सनिस घाइते भएका छन् । दुवै घाइतेको हेटौंडास्थित सिएमसी चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । 

हेटौंडा उप-महानगरपालिका-१२ हात्तीगौडाका २४ वर्षीय सञ्जय जिम्बा र ३५ वर्षीय अजय थिङलाई पक्राउ गरिएको छ ।  

साथै, देशका विभिन्न भागमा प्रहरीले गरेको नियमित गस्तीका क्रममा लागूऔषधसहित १३ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी कक्षका अनुसार काठमाडौं, झापा, रुपन्देही, सुनसरी र कञ्चनपुरबाट उनीहरुलाई पक्राउ गरिएको हो । 

अभियुक्तहरूबाट गाँजा, खैरो हिरोइन र चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने औषधि प्रहरीले बरामद गरेको छ । 

Share News