३ वटा ब्रोकर कम्पनीलाई सेबोनको ९० लाख रुपैयाँ जरिवाना

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुन उल्लङ्घन गरेको भन्दै तीन ब्रोकर कम्पनीलाई कारबाही गरेको छ । बोर्डले ती कम्पनीलाई कुल ९० लाख रुपैयाँसम्म जरिवाना गरेको जनाएको छ ।

बोर्डका अनुसार सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा ७क. को उपदफा (४) को खण्ड (घ) तथा दफा ७ग अन्तर्गतका व्यवस्था उल्लङ्घन गरेपछि कारबाही गरिएको हो । उक्त कानुनी व्यवस्थाअनुसार कुनै व्यक्तिले अर्को व्यक्तिको तर्फबाट व्यावसायिक सम्बन्ध स्थापना वा कारोबार गर्दा सम्बन्धित व्यक्तिको पहिचान, प्रमाणिकरण तथा अख्तियारनामा सहितका आवश्यक कागजात अनिवार्य रूपमा लिनुपर्ने हुन्छ । साथै वास्तविक धनीको पहिचान तथा सम्पुष्टि गर्न आवश्यक प्रक्रिया अपनाउनुपर्ने व्यवस्था रहेको छ ।

दफा ७ग अनुसार सूचक संस्थाले व्यावसायिक सम्बन्ध स्थापना गर्दा वा कारोबार गर्दा वास्तविक धनीको पहिचान र प्रमाणीकरणका लागि उचित उपाय अपनाउनु पर्नेछ । साथै कुनै व्यक्तिले अर्को व्यक्तिको तर्फबाट कारोबार गरेको पाइएमा सम्बन्धित व्यक्तिको पहिचान र कागजात प्रमाणीकरण गर्नुपर्ने व्यवस्था छ ।

यसै प्रावधान उल्लङ्घन गरेको पाइएपछि बोर्डले सिप्ला सेक्युरिटिज (ब्रोकर नम्बर २०), श्रीकृष्ण सेक्युरिटिज (ब्रोकर नम्बर २८) र हातेमालो फाइनान्सियल सर्भिसेज (ब्रोकर नम्बर ७२) लाई जरिवाना गरेको हो ।

बोर्डले सिप्ला सेक्युरिटिजलाई ५० लाख रुपैयाँ जरिवाना तिराएको छ भने श्रीकृष्ण सेक्युरिटिज र हातेमालो फाइनान्सियल सर्भिसेजलाई ३०-३० लाख रुपैयाँ जरिवाना गरेको जनाएको छ ।

नेपाल धितोपत्र बोर्ड का अनुसार उक्त कारबाही ऐनको दफा ७फ. को उपदफा (१) को खण्ड (ख) बमोजिम गरिएको हो । उक्त प्रावधानअनुसार सूचक संस्थालाई एक लाखदेखि एक करोड रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था रहेको छ ।

Share News