निर्वाचनमा अपेक्षा गरेजस्तो मत पाइन : केपी शर्मा ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न नसकेको स्वीकारेका छन् । 

उनले बिहीबार सामाजिक सञ्जालमार्फत निर्वाचनको परिणाम आएको एक सातापछि अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न सकिन र लोकतन्त्रमा अन्तिम फैसला जनताको हुने बताएका हुन् । 

‘जनताको त्यो फैसला शिरोधार्य गर्नु म र मेरो पार्टीको कर्तव्य हो । जनताको मतलाई म पूर्ण सम्मानका साथ स्वीकार गर्दछु,’ उनले भनेका छन्,’ कठिन घडीमा पनि सूर्य चिन्हमा मतदान गरेर हाम्रो पक्षमा उभिनुहुने सम्पूर्ण मतदाता, नेता, कार्यकर्ता, स्वयंसेवक, शुभेच्छुक र समर्थकहरूप्रति म हार्दिक धन्यवाद व्यक्त गर्दछु । ‘

तपाईंहरूको विश्वास हाम्रो शक्ति र हाम्रो ताकत रहेको उनले उल्लेख गरेका छन् । निर्वाचनको परिणाम हाम्रो पक्षमा आएन । तर जनताप्रतिको हाम्रो प्रतिबद्धता र सेवाभाव कत्ति पनि कमजोर नभएको ओलीले धारणा व्यक्त गरेका छन् ।

Share News