काठमाडौं । उपत्यकाबाट उत्पादन हुने फोहरको वैज्ञानिक तथा दिगो व्यवस्थापनका लागि अध्ययन तथा समन्वय समिति गठन गर्ने निर्णय गरिएको छ । उपत्यका मेयर्स फोरमको बुधबार काठमाडौंमा बसेको १३औँ बैठकले फोहर व्यवस्थापन र सार्वजनिक यातायात सञ्चालनलाई दीर्घकालीन रूपमा व्यवस्थित बनाउन विभिन्न निर्णय गरेको हो ।
ललितपुर महानगरपालिकाका प्रमुख एवं फोरमका अध्यक्ष चिरीबाबु महर्जनको अध्यक्षतामा बसेको बैठकले फोहर व्यवस्थापन अध्ययन तथा समन्वय समिति गठन गर्ने निर्णय गरेको हो । उक्त समितिले फोहर व्यवस्थापनका विधि र प्रविधि अध्ययन गर्नुका साथै उपत्यकाभित्रका स्थानीय तहबीच आवश्यक समन्वय, सहजीकरण र सामूहिक व्यवस्थापनका लागि काम गर्नेछ ।
बैठकले सार्वजनिक यातायात सञ्चालनलाई दिगो बनाउन यसअघि तयार गरिएका अध्ययन प्रतिवेदनका तथ्य र सिफारिसहरूको विश्लेषण गरी उपयुक्त ढाँचामा नेपाल सरकारसँग सहकार्य गर्ने निर्णय पनि गरेको छ । साथै गोदावरीदेखि बुढानीलकण्ठसम्म साइकल लेन निर्माणका लागि कानुन तयार गरी गुरुयोजना बनाउने तथा पूर्वाधार निर्माण र सञ्चालनमा संघीय सरकारसँग सहकार्य गर्ने निर्णय गरिएको छ ।
बैठकपछि अध्यक्ष महर्जनले उपत्यकाको एकीकृत विकासमार्फत नागरिक जीवन सहज बनाउन स्थानीय तहहरूबीच समन्वय आवश्यक रहेको बताए । उनले मेट्रो रेलको अवधारणा कार्यान्वयनका लागि संघ सरकारसँग सहकार्य गर्न उपत्यकाका स्थानीय तह तयार रहेको उल्लेख गर्दै पूर्वाधार निर्माण अवधिमा सहज सार्वजनिक यातायात सञ्चालनमा पनि सहयोग गर्ने बताए ।
काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सार्वजनिक यातायात सञ्चालन गर्दा उपत्यकाको भूगोल, बस्तीको मौलिकता तथा सामाजिक–सांस्कृतिक विशेषताअनुसार उपयुक्त प्रणाली छनोट गर्नुपर्नेमा जोड दिइन् । विगतमा भएका अध्ययनहरूको पुनरावलोकन गरी ठोस निष्कर्षमा पुग्नु आवश्यक रहेको उनको भनाइ थियो ।
उनले फोहर व्यवस्थापन, सार्वजनिक यातायात, खानेपानी वितरण, नदी सभ्यता संरक्षण, खाद्य स्वच्छता, विपद् व्यवस्थापन तथा जलवायु परिवर्तनजस्ता समस्या सीमाविहीन भएकाले स्थानीय तहहरूबीच समन्वयात्मक सहकार्य आवश्यक रहेको बताइन् ।
बैठकअघि काठमाडौं महानगरपालिकाको वातावरण व्यवस्थापन विभागकी प्रमुख सरिता राईले फोहर संकलन, ढुवानी र अन्तिम व्यवस्थापनको वर्तमान अवस्था तथा दिगोपनाका लागि आवश्यक कदमबारे प्रस्तुति दिएकी थिइन् । हाल ल्याण्डफिल साइटमा काठमाडौंसहित ६ जिल्लाका २४ स्थानीय तहबाट फोहर व्यवस्थापन हुँदै आएको छ । ढुवानी कार्य नगरपालिका र निजी क्षेत्रबाट हुने गरेको छ भने साइट व्यवस्थापनको जिम्मेवारी काठमाडौं महानगरपालिकाले सम्हाल्दै आएको छ ।