काठमाडौं । भूगोल इन्फ्रास्ट्रक्चर कम्पनीले सन् २०२५ मा ३ अर्ब ६३ करोड ७० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यो अघिल्लो वर्षको तुलनामा ९.८४ प्रतिशत अर्थात् ३२ करोड ६० लाख रुपैयाँले बढी हो । सन् २०२४ मा कम्पनीको सञ्चालन आम्दानी ३ अर्ब ३१ करोड १० लाख रुपैयाँ रहेको थियो ।
कम्पनीको आम्दानी पछिल्ला वर्षहरूमा उल्लेखनीय रूपमा बढ्दै गएको देखिन्छ । कम्पनीले सन् २०२३ मा ९७ करोड ४० लाख रुपैयाँ, सन् २०२२ मा ४० करोड ६० लाख रुपैयाँ, सन् २०२१ मा ३३ करोड ७० लाख रुपैयाँ, सन् २०२० मा ५१ करोड ५० लाख रुपैयाँ, सन् २०१९ मा ४१ करोड २० लाख रुपैयाँ र सन् २०१८ मा २९ करोड ९० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।
कम्पनीसँग हाल करिब १५ अर्ब ८० करोड रुपैयाँ बराबरको अर्डरबुक रहेको छ, जुन सन् २०२५ को कुल आम्दानीको करिब ४.३ गुणा हो । सन् २०२५ मा मात्रै करिब १४ अर्ब रुपैयाँ बराबरका नयाँ परियोजना थपिएको कम्पनीले जनाएको छ । नेपालमा जलविद्युत् विकासको गति बढ्दै गएको अवस्थामा यसले कम्पनीको व्यवसाय विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

भूगोल इन्फ्रास्ट्रक्चरले हालसम्म ८०.२१ मेगावाट क्षमताका जलविद्युत् आयोजना निर्माण सम्पन्न गरिसकेको जनाएको छ । त्यस्तै ४७.४३ मेगावाट क्षमताका आयोजना अन्तिम चरणमा रहेका छन् भने १६३.९२ मेगावाट क्षमताका आयोजना प्रारम्भिक कार्यान्वयन चरणमा छन् ।
कम्पनीको सञ्चालन नाफा मार्जिन पछिल्ला वर्षहरूमा घट्दै गएको देखिएको छ । सन् २०२५ मा कम्पनीको सञ्चालन नाफा मार्जिन ७ प्रतिशतमा सीमित भएको छ, जुन सन् २०२२ मा करिब १२ प्रतिशत थियो । साथै कम्पनीले सन् २०२५ मा अघिल्लो वर्षको नाफाको करिब ८३ प्रतिशत लाभांश वितरण गरेको जनाएको छ ।
सन् २०१४ मा स्थापना भएको भूगोल इन्फ्रास्ट्रक्चर निर्माण क्षेत्रसँग सम्बन्धित कम्पनी हो । सार्वजनिक खरिद नियमावलीअनुसार कम्पनीलाई क्लास–डी निर्माण कम्पनीका रूपमा वर्गीकृत गरिएको छ । कम्पनीले मुख्यतः निजी क्षेत्रका जलविद्युत् आयोजनासम्बन्धी निर्माण ठेक्का कार्य गर्दै आएको छ ।
सन् २०२६ फेब्रुअरी मध्यसम्म कम्पनीको चुक्ता पुँजी १० करोड रुपैयाँ रहेको छ । उक्त चुक्ता पुँजीमध्ये करिब ९३ प्रतिशत सेयर कम्पनीका निर्देशक तथा अध्यक्ष भीमसेन भण्डारीसँग रहेको छ । बाँकी सेयर भने अन्य तीन जना व्यक्तिहरूको स्वामित्वमा रहेको कम्पनीले जनाएको छ ।
कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ९८ करोड ५७ लाख रुपैयाँ दीर्घकालीन र ५ अर्ब २० करोड रुपैयाँ अल्पकालीन गरी कुल ६ अर्ब १८ करोड ५७ लाख रुपैयाँ ऋण लिएको छ । अघिल्लो वर्ष भने कम्पनीको कुल ऋण ४ अर्ब २४ करोड ५३ लाख रुपैयाँ थियो, जसमा २९ करोड ४० लाख रुपैयाँ दीर्घकालीन र ३ अर्ब ९५ करोड १३ लाख रुपैयाँ अल्पकालीन ऋण रहेको थियो ।