काठमाडौं । इरान, इजरायल र अमेरिका युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको आपूर्तिमा असहजता देखिएपछि नेपालमा खाना पकाउने ग्यास (एलपीजी) को संकट टार्न सरकारले नयाँ विकल्प अघि सारेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अब बजारमा आधा सिलिन्डरकाे ग्यास मात्र बिक्री गर्ने योजना बनाएको छ ।
उद्योग मन्त्रालयका प्रवक्ता नेत्र भुसालअनुसार ग्यासको मौज्दात कम हुँदै गएको र भारतीय बजारबाट समेत आपूर्ति घटेर आएकाले सबै उपभोक्तालाई समान रूपमा ग्यास उपलब्ध गराउन यस्तो रणनीति अपनाउन लागिएको हो ।
प्रवक्ता भुसालका अनुसार सिलिन्डरमा पुरै ग्यास भर्दा थोरै संख्याले मात्र पाउने तर आधा (७.१ केजी) मात्र भर्दा धेरैभन्दा धेरै उपभोक्ताको भान्सा रित्तो नहुने देखिएको छ । उनले भने, ‘तत्कालको संकट टार्न र वितरणलाई सहज बनाउन यो उत्तम विकल्प रोजेको हो । ’
बिहीबार नेपाल आयल निगमले सञ्चालक बैठकाबाटै निर्णय गरेर (भोलि) शुक्रबारदेखि आधा सिलिन्डर भरेर बजारमा पठाउने बताइसकेको छ भने हाल देशभर करिब १ करोड ५० लाख ग्यास सिलिन्डर प्रयोगमा छन् ।
अहिले १४.२ केजीको सिलिन्डर बिक्री हुँदै आएकोमा नयाँ निर्णय भए ७.१ केजी ग्यास मात्रै भरेर वितरण गरिनेछ । यस्तो अवस्थामा उपभोक्ताले पनि साविकको मूल्यको आधा मात्रै रकम तिर्नुपर्नेछ ।
उपभोक्ताले आवश्यकताभन्दा बढी सिलिन्डर स्टक गरेकाले बजारमा अभाव देखिएको निगमको भनाइ छ । निगमका अनुसार ग्यास अन्य वस्तुजस्तो लामो समय थुपारेर राख्न नमिल्ने भएकाले आधा सिलिन्डर वितरण गर्दा धेरै उपभोक्तासम्म ग्यास पुग्ने र अभाव कम हुने निष्कर्ष निकालेको छ ।
ग्यासको आपूर्तिमा समस्या देखिएपछि निगमले यस्तो निर्णय लिएको हो । अब उपभोक्ताले एउटा सिलिन्डर ग्यासको लागि ९ सय ५५ रुपैयाँ तिर्नुपर्ने छ ।
निगमले जारी गरेको सूचनामा भनिएको छ, ‘हालको परिस्थितिलाई ध्यान दिँदै ग्यास आपूर्ति र वितरण प्रणालीलाई व्यवस्थित बनाउन ७.१ केजी एलपी ग्यास भरी ९ सय ५५ रुपैयाँमा बिक्री गर्ने निर्णय भएको छ ।’
विगत २ देखि ३ महिनायता काठमाडौं उपत्यकामा ग्यासको माग निकै बढेको निगमको तथ्यांक छ ।
सिलिन्डर आधा भर्दा व्यवस्थापकीय खर्च केही बढ्ने भए पनि त्यसमा आयल निगमले के–कति राहत वा सहयोग गर्न सक्छ भन्नेबारे पनि अध्ययन भइरहेको मन्त्रालयले जनाएको छ ।
यस्तै, ग्यासको परनिर्भरता घटाउन र भविष्यमा आइपर्ने यस्ता संकटबाट बच्न प्रवक्ता भुसालले नागरिकहरूलाई विद्युतीय चुल्होको प्रयोग बढाउन आह्वान समेत गरेको छ । ‘नेपालमा विद्युत्को उपलब्धता अनवरत भइरहेको छ, त्यसैले यसलाई अवसरका रूपमा लिएर इन्डक्सन चुल्हो भित्र्याउनु नै बुद्धिमानी हुनेछ,’ प्रवक्ता भुसालले थपे ।
अन्तर्राष्ट्रिय राजनीतिमा देखिएको ध्रुवीकरण र युद्ध कति लम्बिने हो भन्ने अनिश्चितताले गर्दा आपूर्ति व्यवस्था अझै कठिन हुन सक्ने उनको आकलन छ । ‘भारतमा पनि अभाव देखिन थालिसकेको छ, त्यसैले हामीले आफ्नो तर्फबाट पूर्वतयारी र विकल्पहरू सोच्नै पर्ने बेला आएको छ,’ उनले भने ।
मन्त्रालयले ग्यास मात्र नभई अन्य खाद्य सामग्रीको आपूर्ति र वितरणमा पनि ध्यान दिइरहेको र संकटको बेला नागरिकले पनि आफ्नो दायित्वबोध गरिदिनुपर्नेमा जोड दिएको छ ।