होर्मुज जलडमरूमध्यमा अवरोधः विश्वभर तेलको मूल्य वृद्धि र एसियाली बजारमा संकटको बादल

इरानले ६७ अर्ब डलर बराबरको तेल निर्यात गरेको थियो, जुन पछिल्ला दस वर्षकै उच्च आम्दानी हो ।

इरानको इस्लामिक रिभोल्युसनरी गार्ड (आईआरजीसी) को नौसैनिक गस्ती डुंगा हर्मुज जलडमरूमध्यमा ‘एमएससी एरिज’ नामक कन्टेनर जहाज नजिक गस्ती गर्दै । फाइल तस्बिर । तस्बिर : गेटी इमेज

काठमाडौं । विश्वको सबैभन्दा व्यस्त तेल ढुवानी मार्ग होर्मुज स्ट्रेटमा धेरै जहाजमाथि आक्रमण भएको खबर आइरहेका छन् । यूके मरिटाइम ट्रेड कर्पाेरेशनका अनुसार हालै निशाना बनाइएका जहाजमध्ये दुईवटा ट्यांकर पनि रहेका छन् ।

ती जहाजहरूमा इराकको तट नजिक ‘अज्ञात अस्त्र’ प्रयोग गरेर आक्रमण गरिएको बताइएको छ । यसका साथै युनाइटेड अरब इमिरेट्स (यूएई) को तट नजिक एउटा कन्टेनर जहाजमाथि आक्रमण भएको रिपोर्ट पनि आएको छ ।

इरानले चेतावनी दिएको छ कि यस जलडमरूमध्यबाट पार गर्न खोज्ने कुनै पनि जहाजलाई आक्रमण गरिनेछ । यद्यपि त्यसका बाबजुद पनि केही जहाजी आवतजावत भने जारी छ । सामान्यतया विश्वको करिब २० प्रतिशत तेल यही जलडमरूमध्यबाट भएर जाने गर्छ । युद्धका कारण अहिले विश्वभर तेलको मूल्यमा ठूलो उछाल आएको छ ।

होर्मुज जलडमरूमध्य के हो र कहाँ पर्छ ?

होर्मुज स्ट्रेट विश्वका सबैभन्दा महत्वपूर्ण समुद्री ढुवानी मार्गमध्ये एक हो, विशेषगरी कच्चा तेल आपूर्तिका लागि यो अत्यन्त संवेदनशील र महत्त्वपूर्ण स्थान मानिन्छ । यसको उत्तरतर्फ इरान पर्छ भने दक्षिणतर्फ ओमन र युनाइटेड अरब इमिरेट्स पर्छन् । यसको प्रवेश र निकास क्षेत्र करिब ५० किलोमिटर चौडा छ भने सबैभन्दा साँघुरो भाग करिब ३३ किलोमिटर मात्रै छ । यही मार्गले खाडी क्षेत्रलाई अरेबियन सीसँग जोड्छ ।

यो जलडमरूमध्य यति गहिरो छ कि विश्वका सबैभन्दा ठूला तेल ट्यांकरहरू पनि सजिलै यसबाट आवतजावत गर्न सक्छन् । मध्यपूर्वका प्रमुख तेल तथा ग्यास उत्पादक देशहरू र तिनका ग्राहकहरूले यही मार्ग प्रयोग गर्छन् ।

यूएस इनर्जी इन्फरमेसन एडमिनिस्ट्रेसनका अनुमान अनुसार २०२५ मा दैनिक करिब २ करोड बैरल तेल होर्मुजज जलडमरूमध्यबाट पार भएको थियो, जुन वार्षिक रूपमा झन्डै ६०० अर्ब डलर बराबरको ऊर्जा व्यापारसँग सम्बन्धित छ ।

यस मार्गबाट जाने तेल केवल इरानको मात्र होइन, इराक, कुवेत, कतार, साउदी अरेबिया र युनाइटेड अरब इमिरेट्सबाट पनि आउँछ ।

यदि यो जलडमरूमध्य बन्द भयो भने के हुन्छ ?

सामान्यतया हरेक महिना करिब ३ हजार जहाज यस मार्गबाट गुज्रन्छन् ।

ऊर्जा बजारसम्बन्धी जोखिम विश्लेषण उपलब्ध गराउने कम्पनी ग्लोबल रिस्क मेनेजमेन्टका प्रमुख विश्लेषक अर्ने लोहमन रासमुसेनले भनेका छन् कि जहाजहरूको सुरक्षामा जोखिम रहँदासम्म तेलको मूल्य र ढुवानी लागत दुवै बढ्नेछन् ।

उनले सीबीएस न्यूजसँग सँग भनेका छन्, ‘व्यावहारिक रूपमा हेर्दा यो मार्ग बन्द जस्तै भएको छ, किनकि धेरै जहाजहरू यहाँबाट जान डराइरहेका छन् ।’

उनका अनुसार जहाजमाथि आक्रमणको जोखिम, बीमा नपाउनु वा अत्यन्त महँगो बीमा हुनुले जहाजहरूलाई प्रतीक्षा गर्न बाध्य बनाइरहेको छ । यदि यस मार्गबाट आउने तेल र ग्यास रोकियो भने ऊर्जा बजारमा ठूलो प्रभाव पर्नेछ ।

इरानका विदेश मन्त्रालयका प्रवक्ता इसमेल बाघेईले सीएनबीसीसँग कुरा गर्दै यस जलडमरूमध्यबाट जाने तेल ट्यांकरहरूले ‘अत्यन्त सावधानी’ अपनाउनुपर्ने बताएका छन् ।

युद्ध सुरु भएदेखि ऊर्जा मूल्यमा ठूलो उछाल आएको छ । सोमबार तेलको मूल्य करिब १२० डलरसम्म पुगेको थियो, यद्यपि पछि केही घटेको छ ।

लन्डन स्टक एक्सचेन्ज ग्रुपका अनुसार मध्यपूर्वबाट चीनसम्म तेल लैजान सुपरट्यांकर भाडामा लिनुपर्ने लागत एक हप्तामा लगभग दोब्बर भएर ४ लाख डलरभन्दा माथि पुगेको छ ।

एसियामा पर्ने प्रभाव

यो मार्ग लगभग बन्द जस्तै भएपछि ऊर्जा निर्यातमा निर्भर देशहरू जस्तै साउदी अरेबियालाई पनि ठूलो असर परेको छ ।

इन्टरनेसनल इनर्जी एजेन्सीका अनुसार इरानले दैनिक करिब १७ लाख ब्यारेल तेल निर्यात गर्छ ।

सेन्ट्रल बैंक अफ इरानका अनुमान अनुसार मार्च २०२५ मा समाप्त हुने आर्थिक वर्षमा इरानले ६७ अर्ब डलर बराबरको तेल निर्यात गरेको थियो, जुन पछिल्ला दस वर्षकै उच्च आम्दानी हो ।

एसियामा यसको असर झन् ठूलो पर्न सक्छ । यूएस इनर्जी इन्फरमेसन एडमिनिस्ट्रेसनका अनुसार २०२२ मा होर्मुजÞबाट बाहिरिने करिब ८२ प्रतिशत कच्चा तेल र कन्डेन्सेट एसियाली देशहरूतर्फ गएको थियो ।

विश्व बजारमा इरानले बेच्ने तेलको करिब ९० प्रतिशत चीनले किन्ने गर्छ । चीनले यही तेल प्रयोग गरेर सामान उत्पादन गर्छ र अन्य देशमा निर्यात गर्छ, त्यसैले तेल महँगो हुँदा विश्वभरका उपभोक्ताहरूका लागि सामानको मूल्य पनि बढ्न सक्छ ।

युद्धको रापबीच इरान–चीन तेल ‘कनेक्सन’ : हर्मुजको अवरोध छिचोल्दै करोडौं ब्यारेल बेइजिङतिर

मध्यपूर्व द्वन्द्व : एसियामा इन्धन संकट, चारदिने कार्यसप्ताह र विद्यालय बन्द

इरानको भविष्य मोज्तबा खामेनेईको हातमा, के उनले सत्ता चलाउन सक्लान् ?

मध्यपूर्वको रापमा विश्व अर्थतन्त्र : केन्द्रीय बैंकहरूको ‘अग्निपरीक्षा’ र मुद्रास्फीति बढाउने जोखिम

इरान : शून्यमा सत्ता, संकटमा शासन

खाडी संकट गहिरिँदै : बीमा कम्पनीहरू पछि हट्दा विश्व ऊर्जा बजार त्रसित

इरान र इजरायल : मित्रतादेखि कट्टर दुश्मनीसम्म, यस्तो छ नालीबेली


 

Share News