काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनको मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बहुमत हासिल गरेको छ । प्रत्यक्ष र समानुपातिक दुवै गरेर रास्वपाले एक्लै दुई तिहाइ नजिकको सिट प्राप्त गरेको हो ।
प्रत्यक्षतर्फ कुल १६५ सिटमध्ये रास्वपाले १२५ सिट जितेको छ । बाँकी ४० सिट अन्य दलहरूले प्राप्त गरेका छन् । समानुपातिकतर्फ भने कुल ११० सिटमध्ये रास्वपाले ५७ सिट प्राप्त गरेको छ । बाँकी ५३ सिट अन्य राजनीतिक दलहरूले बाँडेका छन् । यसरी प्रत्यक्ष र समानुपातिक दुवै प्रणाली जोड्दा प्रतिनिधि सभाका २७५ सिटमध्ये रास्वपाले १८२ सिट जितेको छ ।
निर्वाचन आयोगका अनुसार दोस्रो पार्टी नेपाली कांग्रेसले प्रत्यक्षतर्फ १८ सिट र समानुपातिकतर्फ २० सिट जितेको छ । कांग्रेसले प्रत्यक्ष र समानुपातिक गरी कुल ३८ सिट प्राप्त गरेको छ । तेस्रोमा नेकपा एमालेले प्रत्यक्षतर्फ ९ सिट र समानुपातिकमा १६ सिट जितेको छ । एमालेले प्रत्यक्ष र समानुपातिक दुवै गरी कुल २५ सिट प्राप्त गरेको छ ।
चौंथोमा नेपाली कम्युनिष्ट पार्टीले प्रत्यक्षतर्फ ८ सिट र समानुपातिकमा ९ सिट प्राप्त गरेको छ । नेकपाले प्रत्यक्ष र समानुपातिक दुवै गरेर कुल १७ सिट जितेको छ ।
त्यसैगरी, श्रम संस्कृति पार्टीले प्रत्यक्षतर्फ ३ र समानुपातिकमा ४ गरेर कुल ७ सिट प्राप्त गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रत्यक्षतर्फ एक सिट प्राप्त गरेको छ भने समानुपातिकतर्फ ४ सिट जितेको छ । राप्रपाले प्रत्यक्ष र समानुपातिक दुवै गरेर कुल पाँच सिट प्राप्त गरेको छ ।
प्रत्यक्षतर्फ कुल १ करोड ११ लाख ६८ हजार ३२ मतदान भएको निर्वाचन आयोगले जनाएको छ । त्यसमध्ये ६ लाख ९ हजार १५ मत बदर भएको छ ।
त्यस्तै समानुपातिक निर्वाचन प्रणालीतर्फ १ करोड १२ लाख ८० हजार ६१७ मतदान भएको थियो । सोमध्ये ४ लाख ४५ हजार ५९२ मत बदर भएको छ ।
आयोगका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ ५.४५ प्रतिशत र समानुपातिकतर्फ ३.९५ प्रतिशत बदर भएको हो । त्यस्तै, आयोगले सार्वजनिक गरेको तथ्यांक अनुसार प्रत्यक्षतर्फ ९४.५५ र समानुपातिकतर्फ ९६.०५ प्रतिशत मत सदर भएको छ ।