किन १४ वर्षअघि नै पृथ्वी फर्कियो नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ ?

काठमाडौं । अमेरिकी अन्तरिक्ष निकाय नासाको एक अन्तरिक्षयान अपेक्षाभन्दा धेरै वर्ष पहिला नै पृथ्वीको वायुमण्डलमा पुनःप्रवेश गरेको छ । नासाका अनुसार ‘भान एलेन प्रोब–ए’ नामक अन्तरिक्षयान बुधबार बिहान ६ बजेर ३७ मिनेटमा पृथ्वीको वायुमण्डलमा प्रवेश गरेको हो । 

यो अन्तरिक्षयान सन् २०१२ को अगस्टमा प्रक्षेपण गरिएको थियो र करिब १४ वर्षपछि वायुमण्डलमा फर्किएको हो।

उक्त अन्तरिक्षयानलाई यसको जुम्ल्याहा अन्तरिक्षयान ‘भान एलेन प्रोब–बी’ सँगै पृथ्वी वरिपरि रहेको भान एलेन विकिरण घेराको अध्ययन गर्न पठाइएको थियो । 

अमेरिकी अन्तरिक्ष बलका अनुसार ‘भान एलेन प्रोब–ए’ प्रशान्त महासागरको पूर्वी भागमाथि वायुमण्डलमा पुनःप्रवेश गरेको हो । पृथ्वीको वायुमण्डल हुँदै प्रवेश गर्दा अन्तरिक्षयानको अधिकांश भाग जलेर नष्ट भएको अनुमान गरिएको छ, यद्यपि केही भाग बाँकी रहन सक्ने सम्भावना पनि रहेको नासाले जनाएको छ ।

यी अन्तरिक्षयानहरूले सन् २०१२ देखि २०१९ सम्म सक्रिय रूपमा काम गर्दै पृथ्वीको विकिरण घेरासम्बन्धी तथ्यांक सङ्कलन गरेका थिए । यस अभियानका क्रममा वैज्ञानिकहरूले तीव्र सौर्य गतिविधिका बेला अस्थायी रूपमा तेस्रो विकिरण घेरा बन्न सक्ने नयाँ तथ्यसमेत पत्ता लगाएका थिए ।

सन् २०१९ मा दुवै अन्तरिक्षयानको इन्धन समाप्त भएपछि अभियान समाप्त गरिएको थियो । त्यस बेला वैज्ञानिकहरूले ती अन्तरिक्षयान सन् २०३४ तिर पृथ्वीको वायुमण्डलमा पुनःप्रवेश गर्ने अनुमान गरेका थिए । तर हालको सौर्य चक्रमा अपेक्षाभन्दा बढी सौर्य गतिविधि भएका कारण वायुमण्डलीय घर्षण बढ्यो र अन्तरिक्षयानको कक्ष चाँडै घट्दै जाँदा यो अपेक्षाभन्दा पहिले नै पृथ्वीमा फर्किएको हो ।

नासाका अनुसार यस अभियानबाट संकलित तथ्यांकले अन्तरिक्ष मौसम र त्यसले उपग्रह, अन्तरिक्ष यात्री तथा पृथ्वीका सञ्चार, नेभिगेसन र विद्युत् प्रणालीमा पार्ने प्रभावबारे बुझ्न अझ सहयोग पुर्याइरहेको छ ।

नासाले ‘भान एलेन प्रोब–बी’ भने सन् २०३० भन्दा पहिले पृथ्वीको वायुमण्डलमा पुनःप्रवेश नगर्ने अनुमान गरिएको जनाएको छ ।

Share News