काठमाडौं । ‘फार्मामा नवीनता, भोलिका लागि स्वास्थ्य’ भन्ने मूल सन्देशका साथ आयोजित नेपाल फार्मा एक्स्पो २०२६ सफलतापूर्वक सम्पन्न भएको छ । नेपाल फार्मा एक्स्पो २०२६ नेपाल औषधि उत्पादक संघ (एपन) को आयोजनामा फागुन २८, २९ र ३० गते काठमाडौंमा आयोजित तीनदिने एक्स्पोमा औषधि उद्योगसँग सम्बन्धित नवीन प्रविधि, कच्चा पदार्थ, प्याकेजिङ सामग्री तथा अत्याधुनिक मेसिनरीहरूको प्रदर्शनी गरिएको थियो। प्रत्येक दुई वर्षमा आयोजना हुने यो एक्स्पोको यसपटक दशौं संस्करण हो ।
संघका अध्यक्ष विप्लब अधिकारीले नेपालमा विश्वस्तरीय र गुणस्तरीय औषधि उत्पादन भइरहेको सन्देश जनतामाझ पुर्याउन एक्स्पो आयोजना गरिएको बताए । उनका अनुसार विश्व बजारमा विकास भएका नयाँ प्रविधि र आविष्कारलाई आत्मसात् गर्दै नेपाली औषधि उद्योग अघि बढिरहेको छ ।
‘नेपालमा उत्पादन हुने औषधिको गुणस्तरबारे कुनै शंका नगर्न उपभोक्तालाई आग्रह गर्दछु,’ उनले भने । एक्स्पोका मिडिया संयोजक शैलेश वैद्यका अनुसार तीन दिनको अवधिमा २५ हजारभन्दा बढी दर्शकले एक्स्पो अवलोकन गरेका छन् ।
एक्स्पोमा २०० भन्दा बढी प्रदर्शनी कक्ष राखिएका थिए, जसमध्ये ९० प्रतिशतभन्दा बढी विदेशी तथा बहुराष्ट्रिय कम्पनीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा विश्व बजारमा आएका नवीनतम कच्चा पदार्थ, अत्याधुनिक औषधि उत्पादन मेसिनरी तथा प्याकेजिङ प्रविधिको प्रदर्शन गरिएको थियो। साथै स्वदेशी औषधि उद्योगहरूले आफ्ना उत्पादन, उपलब्धि र प्रगतिका नमुनासमेत प्रस्तुत गरेका थिए ।
आयोजकका अनुसार यस एक्स्पोले नेपाली औषधि उद्योगलाई अन्तर्राष्ट्रिय स्तरको प्रविधि र बजारसँग जोड्ने महत्वपूर्ण प्लेटफर्मको रूपमा काम गरेको छ ।