चिपको दुनियाँमा मस्कको ‘इन्ट्री’ गिगाफ्याक्ट्री होइन, ‘टेराफ्याब’ को पालो

‘टेराफ्याब’ परियोजना सात दिनभित्र सुरु हुने

काठमाडौं । एलन मस्कले शनिबार आफ्नो कम्पनी टेस्लाको कृत्रिम बौद्धिकता (एआई) चिप निर्माण गर्ने ‘टेराफ्याब’ परियोजना सात दिनभित्र सुरु हुने बताएका छन् ।

मस्कले गत वर्ष नै टेस्लाले एआई चिप बनाउन ‘अत्यन्त ठूलो चिप कारखाना’ निर्माण गर्नुपर्ने सम्भावना रहेको बताएका थिए ।

टेस्लाले आफ्नो स्वचालित प्रविधि योजनालाई अघि बढाउन पाँचौं पुस्ताको एआई चिप डिजाइन गरिरहेको छ । गत वर्ष कम्पनीको वार्षिक बैठकमा मस्कले सम्भावित उत्पादन योजनाबारे पनि जानकारी दिएका थिए ।

त्यस समयमा उनले विद्युतीय सवारी निर्माता टेस्लाले इन्टेलसँग सहकार्य गर्न सक्ने सम्भावना रहेको बताएका थिए । उनले भनेका थिए, ‘सायद हामी इन्टेलसँग केही काम गर्न सक्छौं ।’

तर हालसम्म कुनै सम्झौता भने भइसकेको छैन । ‘हामीले कुनै सम्झौता गरेका छैनौं, तर इन्टेलसँग यस विषयमा छलफल गर्नु उपयुक्त हुन सक्छ,’ उनले भनेका थिए ।

मस्कले यसअघि पनि एआई ५ नामक चिपबारे संकेत दिएका थिए । साथै टेस्लाले ताइवानको टीएसएमसी र दक्षिण कोरियाको सामसङ इलेक्ट्रोनिक्ससँग पनि साझेदारी गरिरहेको बताएका छन् । यी एआई चिपहरू टेस्लाको स्वचालित ड्राइभिङ प्रणाली, विशेषगरी फुल सेल्फ ड्राइभिङ सफ्टवेयर सञ्चालनका लागि प्रयोग हुन्छन्।

गत वर्ष टेस्लाको वार्षिक साधारणसभामा मस्कले भनेका थिए, ‘हामीले आपूर्तिकर्ताबाट सम्भावित सबैभन्दा राम्रो अवस्थाको चिप उत्पादनको अनुमान लगाए पनि त्यो पर्याप्त हुँदैन ।’

सम्भवतः हामीले ‘टेस्ला टेराफ्याब’ बनाउनुपर्ने हुन्छ। यो ‘गिगा’ भन्दा पनि धेरै ठूलो हुनेछ। हामीलाई आवश्यक पर्ने चिपको मात्रा उत्पादन गर्न अर्को कुनै उपाय देखिँदैन। त्यसैले अत्यन्त ठूलो चिप कारखाना बनाउनैपर्छ,’ उनले थपे ।

Share News