रास्वपा र राप्रपाले आज टुंग्याउँदै समानुपातिक सांसद सूची

रास्वपाले ५७ सांसद सिफारिस गर्ने, राप्रपाले पनि कार्यसम्पादन समिति बैठकबाट सूची तय गर्ने तयारी

काठमाडौं । आम निर्वाचनपछि प्रतिनिधिसभामा आरामदायी बहुमत हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज समानुपातिकतर्फका आफ्ना सांसदहरूको अन्तिम सूची टुंग्याउने तयारी गरेको छ ।

भर्खरै सुरु भएको पार्टीको सचिवालय बैठकले निर्वाचन आयोगले उपलब्ध गराएको कोटा र समावेशी सिद्धान्तअनुसार समानुपातिक सांसदहरूको नामावली सिफारिस गर्नेछ ।

समानुपातिक निर्वाचन प्रणालीमा रास्वपाले कुल ५७ सिट जितेको छ । संविधान र समावेशी व्यवस्थाअनुसार तीमध्ये ४८ जना महिला र ९ जना पुरुष सांसद रास्वपाले चयन गर्नुपर्ने हुन्छ ।

यसअघि समानुपातिक सांसद छनोटबारे निर्णय गर्न हिजो नै सचिवालय बैठक बोलाइएको थियो । तर पार्टी सभापति रवि लामिछाने अस्वस्थ भएपछि बैठक आजका लागि सारिएको हो।

उता राष्ट्रिय मान्यताप्राप्त पाँचौं दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि आजै समानुपातिक सांसद चयनका लागि कार्यसम्पादन समितिको बैठक बोलाएको छ । पार्टी कार्यालयमा बिहान ११ बजे बस्ने बैठकबाट समानुपातिक सांसदहरूको नाम टुंग्याइने पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

Share News